शनिबार, बैशाख ८, २०८१

विषादी छर्दा ध्यान दिन कृषि विज्ञको सुझाव

रत्ननगर (चितवन), १८ भदौ । कृषि विज्ञहरुले विषादी छर्दा विशेष ध्यान दिन कृषकलाई आग्रह गरेका छन् । छरेको विषादीमध्ये १० प्रतिशत मात्रै तरकारीमा जाने तर ९० प्रतिशत वातावरणमा फैलने भएकाले विशेष ध्यानपूर्वक विषादी छर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । रामपुर कृषि विश्वविद्यालयका कृषि विज्ञ दीपक ज्ञवालीले विषादीको दुरुपयोग भए मानव स्वास्थ्यकै लागि खतरनाक भएको बताउनुभयो ।
उहाँले कतिपय स्थानमा मानिस खुलमखुला विषादी छर्ने गरेको पाइएको भन्दै किसानलाई सावधानी अपनाउनसमेत आग्रह गर्नुभयो । कृषि विकास कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले नोक्सानी कम गर्नु पनि आम्दानी बढ्नु नै भएको भन्दै सामान्य केही समस्या देखिँदैमा विषादी प्रयोग गर्नु उपयुक्त नहुने बताउनुभयो । एक तथ्याङ्कअनुसार गएको वर्ष नेपालमा ३४५ टन विषादी आयात भएको छ । जसमा कीटनाशक ३३ प्रतिशत, रोगनाशक ४८ प्रतिशत, झारनाशक १६ प्रतिशत र अन्य तीन प्रतिशत आयात भएको अधिकारीले बताउनुभयो । विषादीका लागि अघिल्लो वर्ष ३६.४९ करोड रकम खर्च भएको छ । आयात गरिएको विषादीमध्ये ९० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको समेत उहाँले बताउनुभयो । विज्ञहरुले विषादी प्रयोग गरेको एक हप्तासम्म तरकारी नटिप्ने, रोग किरा पहिचान गरी विषादी हाल्ने, दर्ता नभएका विषादी प्रयोग नगर्ने र कुनै पनि विषादी प्रयोग गर्नु परे कृषि विज्ञहरुको सुझाव लिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७१