शुक्रबार, बैशाख ७, २०८१

विवादित किसान परियोजनामा सचिवले गरे हस्ताक्षर

काठमाडौं, साउन । नाम किसान भएपनि काम किसानमय हुन नसकेको भन्दै परियोजना सञ्चालन भएदेखि नै विभिन्न खाले विवादमा मुछिएको अमेरिकी सहयोग नियोग यूएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित किसान परियोजना सकिन ११ दिन वाँकी हुंदै समापन गरेर किसान २ परियोजनाको शुरुवात गरिएको घोषणा गरिएको छ । कृषि विकास मन्त्रालयसँग समन्वय नगरीकन कार्यक्रम सञ्चालन गर्दै आईरहेको भन्दै विगतमा निकै विवादमा आएको किसान परियोजनाका समापन समारोह र किसान २ परियोजनाको शुभारम्भ कार्यक्रमको अध्यक्षता भने कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले गरेपछि कार्यक्रममा चर्चा चलेको हो ।
विशेष कृषि विकास मन्त्रालयले आफैले गरेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री वा माथिल्ला तहका व्यक्ति भएको अवस्थामा सचिवले कार्यक्रमको अध्यक्षता गर्ने चलन छ । तर उक्त चलनलाई तोड्दै कृषि सचिव डा सुरोज पोखरेलले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा आतिथ्यता नगरी अध्यक्षता नै ग्रहण गर्नुलाई शंकाका दृष्टिकोणले हेरिएको छ । तर सो आयोजनाको निर्देशन समितिको अध्यक्ष भएकै नाताले अध्यक्षता गरेको भन्ने गरिन्छ । सो आयोजनाले निर्देशन समितिको वैठकमा सचिवलाई अध्यक्षता ग्रहण गराउने बाहेक कृषि विकास मन्त्रालयसँग समन्वय नै नगरेका कारण विगतमा विवादमा आएको हो । तर पनि अमेरिकी सहयोग नियोग यूएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित किसान आयोजनामा कृषि सचिव मात्र होइन उच्च अधिकारीहरु नै आन्तरिक रुपमा सक्रिय रहेको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ ।
पाँचतारे ¥याडिसन होटलमा भएको किसान परियोजना समाप्त हुनु ११ दिन अगावै गरिएको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कृषि मन्त्री रामकृष्ण यादवलाई निमन्त्रण गरिएको भएपनि सो कार्यक्रममा मन्त्री उपस्थित भएनन् । तर गैरसरकारी संस्थाको कार्यक्रममा कृषि सचिवले अध्यक्षता ग्रहण उचित थियो ?
किसान परियोजना शुरु भएदेखि नै मन्त्रालयसँग समन्वय नगरी परियोजना सम्पन्न गरिसकेको अवस्थामा विगतदेखि नै किसान परियोजनाको कार्यक्रममा अध्यक्षता ग्रहण कृषि सचिवले किन गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको छ । मंगलबार आयोजित कार्यक्रममा किसान २ आयोजनाको सम्झौतामा समेत कृषि सचिव डा सुरोज पोख्ररेलले हस्ताक्षर गरेका छन् । -धिरेन्द्र बस्नेत

प्रकाशित मिति: बुधबार, साउन १८, २०७४