शनिबार, बैशाख ८, २०८१

विदेशको हण्डर पछि स्वदेशमै कृषि पेशा

रोल्पा,६ मंसिर । मदन वली २६ वर्षका भए । रोल्पाको कोटगाउँ–८, दाङमाङमा जन्मिएका उनी खाडी मुलुकमा केही वर्ष भौंतारिए । खाडी मुलुकमा बगाउने श्रम र पसिनालाई आफ्नै गाउँपाखामा बगाउन सके आर्थिक आयआर्जनको पाटो बलियो बन्नसक्ने निश्कर्ष सहित अहिले बङ्गुर मालिक बनेका छन् । केही समयअघि दुवईबाट फर्केका उनी आफ्नै गाउँमा व्यवसायिक बङ्गुर पालन, फलफूल तथा तरकारी खेती गर्न थालेका छन् । ठूलो सपना देखेर विदेश भौंतारिनुभन्दा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनको निश्कर्ष छ । उनी भन्छन् ‘विदेशमा गर्नेजति दुःख नेपालमा गरियो भने सुन यही फल्छ ।’

Rukum iकरिव १ रोपनी क्षेत्रफल ओगटेको उनको बङ्गुर फारम छ । मदन वलीले नेपाल कृषि घर ललितपुरबाट १३ वटा बङ्गुरका पाठाहरु ल्याई व्यवसायिक पालनको आरम्भ गरे । झण्डै ६ लाखभन्दा बढी लगानी गरी यो पेशा थालेका उनले धेरै सोचविचार र दिर्घकालिन योजना सहित लागेको बताए । बङ्गुरको लागि आवश्यक दानाहरु उनले दाङबाट ल्याउँछन् भने केही घरमै बनाउँछन् ।
बङ्गुर पालनसँगै उनले झण्डै ९ रोपनी क्षेत्रफलको जग्गामा १ सयवटा सुन्तलाका विरुवा रोपेका छन् । शहरीक्षेत्रमा सुन्तलाको माग निकै बढ्दो भएकोले पनि यसको उत्पादनले मनग्य आम्दानी उनको ठम्याई छ । त्यसका साथै उनले आलु, साग लगायतका विभिन्न तरकारी खेतीसमेत गर्न भ्याएका छन् । घरपरिवारको सहयोगले नै तरकारी खेती अगाडी बढाएको उनको भनाई छ । मदनको यो पेशाबाट घरपरिवारका साथै उनकी श्रीमती सपना वली पनि निकै खुशी देखिन्छिन् । सपना भन्छिन् ‘डाँडाकाँडा काटेर अर्काको ठाउँमा जानुहुन्थ्यो, निकै दुःख हुन्छ भन्नुहुन्थ्यो अहिले यही साथै दुःखसुख काम गरिरहेका छौं आम्दानी पनि भइरहेको छ खुशी छौं ।’ घरपरिवार तथा आफन्तहरुको यो सद्भावले पनि मदनलाई कृषि पेशा अपनाउन हौसला मिलेको हो ।

विदेश जाँदा वास्ता नगर्ने गाउँलेहरुले पनि उनको यो कामप्रति चासो दिइरहेको मदनको भनाई छ । हिउँदको समयमा पानीको समस्या हुने हो कि भन्ने उनको चिन्ता छ, कुनै निकायले सहयोग गरेमा आफूलाई झनै हौसला मिल्ने उनको आशा छ । औपचारिक अध्यनका हिसावले ७ कक्षामात्र पढेका उनी पहिले कतार गएका थिए । दलालको गद्धारीका कारण निकै दुःख खेपेका मदनले आफू विदेश जाँदा ल्याएको ऋण मात्र तिरेर खाली हात घर फर्किए । गरिवीले च्याप्दै लगेपछि फेरी दुवईको यात्रामा निस्केका उनी केही कमाई बचाउन सफल भए र आफूले चाहेको पेशा गर्न सम्भव तुल्याए । आफ्नै व्यक्तिगत लगानीमा कृषि पेशा अंगालेका मदन वलीले कुनै संघसंस्थाले उत्पादन गरेको बस्तु विक्रि लगायतका कामहरुमा सहायता गर्छन् कि भन्ने आशमा छन् । बेरोजगारीको व्याप्तता र दिनहुँ युवा शक्ति विदेश पलायन भइरहेको अवस्थामा यस्ता उत्साहित युवाहरुले मुलुकको आर्थिक स्थिति सुदृढिकरणको लागि आफ्नै देशमा बसेर केही गर्न सक्छन् । आफ्नै घर आगनको सुनलाई कुल्चिएर नुनको खोजीमा विदेश भौंतारिरहेका कैयौं युवाहरुको लागि मदन वली गतिलो उदाहरण हुन सक्छन् । – नवीन लोचनमगर

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७१