मङ्लबार, चैत्र ६, २०८०

वन्यजन्तुको आक्रमणबाट ९ महिनामा १० मानिसको मृत्यु

काठमाडौँ, जेठ । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय निकुञ्जमा दुई जना मानिसको ज्यान गएको थियो । यस अवधिमा वन्यजन्तुको आक्रमणमा परी ३३ जना मानिस घाइते भएका र यही कारणले विभिन्न प्रजातिका १९३ वन्यजन्तु मारिएका विभागका अनुसन्धान अधिकृत सुष्मा रानाले जानकारी गराएकी छिन्।

विभागको तथ्याँकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वको कारण २२ जना मानिसको मृत्यु भएको थियो भने अन्य ४३ जना घाइते भएका थिए । यस अवधिमा मानव वन्यजन्तु द्वन्द्वका कारण विभिन्न प्रजातिका ३२६ वन्यजन्तु मारिए भने २७१ घरगोठ, २७७ पशुधन र १७१ स्थानमा अन्नबाली नोक्सान भयो । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जंगली ब्वाँसो, हिमाली कालो भालु, हिउँ चितुवाजस्ता वन्यजन्तुबाट संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १०, २०७५