लमजुङ । पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएसँगै लमजुङ जिल्ला दूधमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका किसानले उन्नत जातका गाईभैंसी पाल्न थालेका कारण गुणात्मक रूपमा दूध उत्पादन बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले बताएको हो ।
कार्यालयका पशु विकास अधिकृत लक्षमण ढकाल भन्छन्, ‘जिल्लामा दूध उत्पादनका लागि व्यावसायिक पशुपालन गर्ने किसान राम्रै छन्, उनीहरूद्धारा उत्पादित दूधको खपत पनि राम्रो छ ।’ उनका अनुसार जिल्लाको बेंसीशहर, बाँझाखेत, भलायखर्क, धमिलीकुवा, दुराडाँडा, परेवाडाँडा, सुन्दरबजार, भोटेओडार र रम्घा क्षेत्रका किसानले व्यावसायिक पशुपालन गर्दै आएका छन् । उत्पादकत्व वृद्धि भएर दूध उत्पादन बढेपछि जिल्लामा दूध खपत राम्रै छ ।
पशु कार्यालयसँग भएको तथ्याङ्कमा आव ०७३/७४ मा १६ हजार मेट्रिकटन दूध उत्पादन भएको छ । जिल्लाको दूध उत्पादनको अवस्था हेर्दा प्रत्येक वर्ष दूध उत्पादन बढेको प्रमुख ढकाल बताउँछन् । ‘अघिल्लो वर्षभन्दा ३.९ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको थियो,’ उनले भने । लमजुङमा ३० हजार घरधुरीले दूध, घिउ बेच्दै आएका छन् ।
पशु विकास कार्यालयका अनुसार गत आवमा लमजुङमा डेढ अर्बभन्दा बढीको दूध उत्पादन भएको छ । लमजुङ बजारमा अहिले चलनचल्तीको दूधको मूल्य औसत ५० रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिलिटर छ ।
उन्नत जातका गाईले दैनिक २० लिटरसम्म दूध दिने भएकाले यसतर्फ आकर्षित भएका हुन् । यहाँका किसानले जर्सी जातका गाई, होलीस्टिन, मुर्रा जातको भैंसी पाल्दै आएका छन् । पशु कार्यालयले व्यावसायिक रूपमा फार्म सञ्चालन गर्ने कृषकलाई गोठ सुधार, घाँसको बिरुवा, बेर्ना, मिल्क एनालाइजर, विद्युतीय मदानी, भ्याक्सिन तथा जुकाको औषधि, शिविर र तालीम अनुदानमा दिने गरेको छ ।
पशुपालनमा क्षति न्यूनीकरणका लागि यहाँका किसानले बीमा पनि गर्न थालेका छन् । विभिन्न रोगव्याधीबाट गाईभैंसी मर्ने हुनाले त्यस्तो क्षतिबाट जोगिन किसानले पशु बीमा गर्न थालेका हुन् । पशुबीमा कार्यक्रममा किसानलाई अनुदान दिने व्यवस्था छ ।
दुग्ध प्रशोधन केन्द्र स्थापना
सुन्दरबजार नगरपालिका– ८ भोटेओडारको धारापानीमा नेपाल मोडर्न एग्रिकल्चरले दूध प्रशोधन केन्द्र स्थापना गरेको छ । हाल प्रतिदिन २ हजार लिटर दूध उक्त केन्द्रमा प्रशोधन गरिन्छ । उक्त प्रशोधन केन्द्र १ करोडभन्दा बढीको लागतमा स्थापना गरिएको आराभा नेपालका अध्यक्ष बजगाईंले बताए ।
Add Comment