शनिबार, बैशाख ८, २०८१

लकडाउनको समय गाई, भैसी र बाख्रा पाल्ने किसानले यी कुरामा ध्यान दिनुस्

  • तापक्रम बढ्दै जाने र मौसम पनि बदली भइरहने हालको समयमा पशुहरुमा जुम्रा, उपिँया, किर्ना, भुसुना जस्ता बाह्य परजीवीहरुको प्रकोप बढ्दै जाने हुँदा आफ्ना पशुवस्तुहरुको नियमित अनुगमन गर्नुहोस्। यस्ता बाह्य परजीवीहरुको प्रकोप धेरै भएमा क्लीनर, बुटोक्स, नोटिक्स, एमिटाज, इक्टोसिस जस्ता औषधिहरु सिफारिस गरिएको मात्रामा पानीमा घोलेर पशुवस्तको शरीरमा दल्नुका साथै खोर-गोठमा पनि राम्रोसँग छर्कनुहोस्।
  • हालको प्रतिकूल (कोभिड-१९ का कारणले लकडाउन भएको) समयमा पशुवस्तुहरुलाई खुवाउने दानाहरुको अभाव हुन सक्ने र पशुजन्य उत्पादनहरु बजारिकरण गर्न समस्या हुनसक्ने भएकोले आफूसँग मौज्दातमा रहेको कच्चा पदार्थ, दाना र औषधीहरुलाई विवेकपूर्वक प्रयोग गर्नुहोस। पशुवस्तुहरुलाई बाँच्नको लागि मात्र चाहिने दाना (Maintenance Ration) दिने गर्नुहोस्। हरियो घाँसपातको जोहो गर्न सम्भव भए वयस्क पशुहरुलाई घाँस मात्र दिई साना र गर्भवती पशुहरुलाई दाना पनि दिनुहोस्।
  • लकडाउनका कारण हालको प्रतिकूल समयमा दुध उत्पादनमा रहेका पशुहरुलाई दानाको अभाव भएमा स्थानीय रुपमा पाईने अन्न, दलहन बालीका खोस्टाहरु (by-products) र तेलहन बालीका पिनाहरुको प्रयोग गरि दाना बनाई खुवाउनुहोस्। यसका लागि मकै ३० भाग, तेलहन बालीको पिना २० भाग, धानको ढुटो ३० भाग, गहुँ वा गेडागुडीको भुस २० भाग र नून एक-दुई मुठ्ठी मिसाई न्यूनतम आवश्यकताको दाना बनाउनुहोस्। यसमा पानीमा भिजाईएको ४-५ ईन्च लामो हुने गरि काटिएको पराल वा छ्वाली पनि मिसाई खुवाउनुहोस्।
  • भर्खरै काटिएको गहुँको भुसा र दलहन वाली जस्तै- मुसुरो, अरहर र मासका खोस्टाहरु पनि पशुहरुलाई खुवाउनको लागि राम्रो हुने हुँदा उचित रुपमा भण्डारण गरि राख्नुहोस्।
  • भर्खरै व्याएका वा दूधालु पशुहरुलाई पूर्णरुपमा दूध ननिखारि दुहुनाले थुनेलो भई फाँचो (कल्चौडो) नै बिग्रन सक्ने हुँदा बजारिकरण गर्न नसकिएपनि दूध सबै निखारेर दुहुनुहोस्। दूधका अन्य परिकारहरु बनाई प्रयोग गर्ने वा भण्डारण गर्नेतर्फ पनि सोच्नुहोस्।
  • दिउँसोको तापक्रम बढ्दै गईरहेको हुँदा पशुहरुलाई पर्याप्त मात्रामा सफा र ताजा पानी उपलब्ध गराउनुहोस्।
  • पशुहरुमा किर्नाको टोकाईबाट लहुमुते रोग (प्राय: कफी रंगको वा रातो रंगको पिसाव फेर्ने; उक्त पिसाव आधा घण्टा जति सफा टेस्टट्यूव/ शिसाको गिलासमा नहल्लाई राख्दा सतहमा रगत नजम्ने) सर्ने भएकोले यसबाट पशुहरुलाई बचाउन बुटक्स औषधि २ एम.एल. प्रति लिटर पानीमा मिसाई पशुको शरीर भरि दल्नुहोस्।
  • गाई, भैँसी, भेडा, बाख्रामा खोरेत, चरचरे र एन्थ्राक्स (पटके रोग) तथा भेडा, बाख्रामा पिपिआर विरुद्ध खोप लगाउने समय भएकोले नजिकैको प्राविधिकसँग सम्पर्क गरि आफ्नो पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्। पशुवस्तुहरुलाई दिउँसोको समयमा खोप नलगाई साँझ/बिहानको समयमा मात्र लगाउनुहोस्।
  • पि.पि.आर. रोग लागेका बाख्राको आँखा, नाक, मुख (थुतुनो) मनतातो पानीमा सफा कपास भिजाई दिनमा २ पटक ५% बोरो-ग्लिसिरिनले सफा गर्नुहोस्। सहायक (Secondary) संक्रमण भएमा अक्सीटेट्रासाइक्लिन वा सेफ्ट्रिएक्जोन समूहका औषधी प्रयोग गर्नुहोस्।
  • माउवाख्रा मरेमा वा दुध कम आएमा गाईभैंसीको दुध अथवा निम्न अनुसारको झोल बनाई पिलाउनुहोस्।
प्रकाशित मिति: बिहिबार, बैशाख २५, २०७७