शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मल काण्ड फेरि वल्झँदै

काठमाडौं, जेठ । हरेक वर्ष ठिक यसै बेला रासायनिक मलको अभाव सिर्जना गराईने गरिएको छ । जिल्ला जिल्लामा रासायनिक मल अभाव भएका छन् । तर सरोकारवाला मन्त्रालय कृषि विकास मन्त्रालय किसानहरुलाई सहज रुपमा मल आपूर्ति गर्ने कार्यका लागि भन्दा पनि कहिले बन्दरगाहा र कहिले रासायनिक मलको जानकारी लिन भन्दै भारत भ्रमणमा निस्कने गर्दछन् । ministry-of-agriculture
कृषि विकास मन्त्रालय भित्रको नदेखिंदो भ्रष्टाचार रासायनिक मलमा छ । यो एक आर्थिक वर्षमात्र होइन हरेक आर्थिक वर्षभित्र देखिएको समस्या हो । कृषि सामग्री कम्पनीदेखि कृषि मन्त्री, अर्थ मन्त्री हुंदै प्रधानमन्त्रीसम्म भागबण्डा रासायनिक मल खरिद प्रक्रियामा हुने गरेको रासायनिक मलका ठेकेदारहरु नै गौरवका साथ बताउंछन् ।
कृषि सामग्री कम्पनीको बजेटमा केही दिन अगाडि वीरगञ्ज बन्दरगाह भ्रमण गरेर आएका कृषि विकास मन्त्रालयका टोली लगतै भारत भ्रमणमा पुगेका छन् । भ्रमण भत्ता कसरी असुल्न सकिन्छ भन्ने कर्मचारीको एकातिर सोच रहेको छ भने अर्कोतिर सत्ता परिर्वतनको हल्लासंगै कसरी मल खरिद गरी कमिशन हात पार्न सकिन्छ भन्नेमा देखिएका छन ।
केही समय अगाडि मात्र अष्ट्रेलियन कम्पनीसंग कृषि विकास मन्त्रालयले रासायनिम मल किन्ने विषयलाई लिएर चर्को विवाद समेत भएको थियो । मुलुकलाई ७२ करोड घाटा लगाएर मल खरिद गर्न लागिएको विषय अझै टुङ्गो लागिसकेको छैन संसदको कृषि तथा जलश्रोत समितिमा अड्किएर बसेको छ । अहिले फेरि भारतीय सरकारी कम्पनीसंग मल तत्काल कसरी खरिद गर्न सकिन्छ भन्ने निहुंमा कृषि विकास मन्त्रालयका अधिकारीहरु भारत पुगेका छन् ।
एकातिर रासायनिक मल खरिद गर्ने विषयमा मन्त्रालय कमिशनको चक्कमार रुमल्लिएको छ भने अर्कोतिर प्रांगारिक मल उत्पादन गर्ने नाममा करोडौं रुपैयां अनुदान दिने र कमिशनमा नै रमाउने काम पनि विगतदेखि नै भईरहेको छ । कृषि विकास मन्त्रालयले हालसम्म प्रांगारिक मल उत्पादनका लागि दिएको अनुदान रकम हेर्ने हो भने नेपाली किसानहरुले रासायनिक मलको विकल्पका रुपमा प्रांगारिक मल प्रयोग गर्ने मात्र होइन नेपालका लागि रासायनिक मलको अभाव भन्दै किसानका नाममा कमिशनको खेल पनि बन्द हुन्थ्यो होला ।
आखिर हरेक वर्ष किसानहरुलाई सहज रुपमा रासायनिम मल उपलब्ध गराउने खेलमा किन झेल भईरहेको छ । नेपालका लागि आवश्यक रासायनिक मल कति हो ? कति आयात भईरहेको छ ? कुन समयमा आयात गरियो भने किसानसम्म पुग्थ्यो भन्ने कुरा सरकारी अधिकारीहरु यकित तथ्यांक बताउन सक्दैनन् । कृषि विकास मन्त्रालयकै केही उच्च अधिकारीहरु भने नेपालमा रासायनिक मलको समस्या कहिल्यै पनि समाधान नहुने बताउंछन् । किनकी रासायनिक मलमा दिइने अनुदान भित्रै विभिन्न खाले खेलहरु अझै पनि छन् । त्यही खेलका कारण रासायनिक मल यो वा त्यो कारण अभाव भईनै रहन्छ । जसरी नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन्छ त्यही अवस्थामा रासायनिक मल रहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ९, २०७४