शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मलको चरम अभाव हुन्छ


अम्मरराज खैर
प्रवन्ध सञ्चालक
कृषि सामग्री कम्पनी

० सरकार रासायनिक मलको अभाव छैन भनिरहेको छ तर केही जिल्लामा देखिएको छ नि ?
वास्तवमा भन्ने हो भने यो वर्ष रासायनिक मल अभाव छैन । यहाँ भने जस्तै एक दुई ठाउँमा केही दिन मल अभाव देखिएको हो । त्यो समस्या समाधान भईसकेको छ । विगतका वर्षमा जस्तो मल अभाव अहिले देखिएको छैन ।
० अहिले भारतबाट रासायनिक मल जिटुजी कार्यक्रममा ल्याउन लागिएको छ भन्ने बहश चलिरहेको छ नि ?
विगत दशौं वर्षदेखि रासायनिक मल त्यसरी नै आईरहेको अवस्था छ । अर्कोकुरा भारतसँग युरिया मल खरिद गर्दा ग्लोवल टेण्डर प्रक्रियामा भन्दा प्रतिटन ४ देखि ५ हजार सस्तोमा खरिद गरिरहेका छौं ।
० तर जिटुजीका माध्यमबाट ल्याउन लागिएको मल पनि भारत सरकारको विभिन्न कम्पनीहरुबाट नल्याई एउटै कम्पनीबाट ल्याउन लागिएको हल्ला छ नि त ?
त्यस्तो हुँदै होइन । किनभने भारत आफै रासायनिक मलमा आत्मनिर्भर छैन । उसले पनि ५० प्रतिशत रासायनिक आयात नै गरिरहेको हुन्छ । भारतमा रासायनिक मल अत्यावश्यक बस्तुका रुपमा राखिएको छ । त्यसकारण उनले हामीलाई मल दिनै पर्दछ भन्ने छैन । छिमेकी देश भएका कारणले सहयोग गर्न खोजेको मात्र हो । अर्को कुरा एउटै कम्पनीबाट खरिद गर्ने भन्ने विषयमा त्यो हाम्रो हातको कुरा होइन । सरकारसँग खरिद गर्ने भएकाले भारत सरकारले जुन कम्पनीलाई विक्री गर्न अनुमति दिएको हुन्छ त्यही कम्पनीसँग हामीले खरिद गर्ने हो । भारतले दुईतीन वटा कम्पनी तोकिदिएको खण्डमा सोही अनुरुप गर्ने गरिएको छ भने एउटा कम्पनी तोकिदिएको अवस्थामा हामीेले अरुसँग खरिद गर्न सक्दैनौ ।
० तर हामीले खरिद गर्दा भारत सरकारकै मातहतमा चलेका कम्पनी मध्ये केही सस्तोमा मल विक्री गर्ने होलान् नी उनीहरुसँग खरिद गर्न के समस्या छ त ?
भारत सरकारले हरेक वर्ष आईपिपि (क्ष्लमष्ब उचष्यचष्तथ एचष्अभ०मूल्य तोकेको हुन्छ । त्यही सरकारले तोकेको मूल्य सवै कम्पनीहरुले कार्यान्वयन गर्ने गरेका छन् । भारतबाट हामीले ल्याउने युरिया मल पनि सोही मूल्यमा ल्याउने गरेका छौं । त्यस्मा सस्तो महंगो भन्ने छैन ।
० मूल्यमा उतार चढाव त होला नि ?
हो रासायनिक मलको मूल्य हरेक हप्ता जस्तो परिवर्तन भईरहेको हुन्छ । त्यसैले मूल्यमा समस्या छैन । सरकारले नै तोकेको मूल्यमा आउने भएकाले जुन बेला खरिद गर्ने हो त्यो बेलाको मूल्यका आधारमा खरिद गरिन्छ । टेण्डर प्रक्रियामा मात्र प्रस्ताव दर्ता गर्नु अगाडि नै मूल्य तोक्नु पर्ने भएकाले कहिलकाँही समस्या आउने गरेका छन् । जुन हामीले विगतमा पनि भोगिसकेका छौं । भारत सरकारले हरेक वर्ष आईपिपी मूल्य वर्षको अन्त्यमा तोक्ने भएकाले तोकिएका वर्ष जुन मूल्यमा छ त्यही मूल्यमा खरिद गर्नु पर्ने हुन्छ । हामी कहाँ अहिले आईरहेको युरिया मल सन् २०१७ मा भारत सरकारले तोकेको आइपीपी मूल्यका आईरहेको छ ।
० हरेक वर्ष रासायनिक मल खरिद प्रक्रिया अगाडि बढ्छ त्यसबेला विवाद आउँछ कारण किन ?
रासायनिक मलमा विभिन्न थरीका व्यक्ति र कम्पनीको चाहना भएका कारण विवाद ल्याउने गरिएको छ । मेरो विचारमा अरु कुनै विवाद छ्रैन । टेण्डर प्रक्रियामा जाँदा खरिद ऐनले तोके अनुसार नै सवैभन्दा कम मूल्यलाई दिएका छौं । भारतसँग खरिद गर्दा आईपीपी कै आधारमा खरिद गर्ने गरेका छौं । हरेक वर्ष महालेखाले निगरानी गरिरहेको हुन्छ । जसले आएर कागजपत्र हेरेपनि हामी स्पष्ट पारिदिन्छौ ।
० तर मल खरिदमा कमिशन कै कारण मन्त्री सचिवकै बढी संलग्नता हुने गरेको त विगतदेखि नै चर्चा हुने गरेको छ नि त ?
मलाई अचम्म लागेको कुरा नै यही हो । सरकारसँग मल खरिद गर्दा पनि के को कमिशनको कुरा आउँछ । यो सवै नबुझेर गरिएको कुरा हो । भारतले हामीले मल दिनु नै सकारात्मक कुरा हो । उ आफैले वार्षिक दुइ करोड टन मल विदेशबा ट खरिद गरेर ल्याउँछ । हामीले पटक पटक भन्दै आईरहेको छौं हामीलाई भारतले आयात गरेको मल होइन भारतमा नै उत्पादन भएको मल मागिरहेका छौं । त्यसकारण पनि यो कमिशन, संलग्नता भन्ने कुरा विवाद गर्नका लागि आएका कुरा हुन् ।
० रासायनिक मलका लागि हामीले भारतसँग मात्र भर पर्नु पर्ने किन छिमेकी चीनबाट पनि ल्याउन सकिएला नि ?
हामीले गत वर्षमात्र चीन सरकारसँग अनुरोध पनि गरेका हौं। त्यसबेला चीन सरकारका प्रतिनिधि कृषि मन्त्रालयमा आएर नै सरकारलाई विक्री गर्ने उनीहरुको प्रक्रिया नभएको जानकारी गराए । उनीहरुले हामीलाई कति मूल्य बराबरको रासायनिक मल आवश्यक पर्ने हो त्यसका आधारमा अर्थ मन्त्रालय मार्फत ऋण स्वरुप दिन सक्छौं भन्ने धारणा राखेका छन् । उनीहरुले सरकारलाई विक्री गर्न नसक्ने बताएका कारण पनि हामीले चीनसँग मल खरिद गर्न सक्ने अवस्था छैन ।
० अन्य देशबाट पनि ल्याउन सकिन्छ होला नि त ?
विगतमा भएकै त्यही हो । हामीले सँधै भारत सरकारसँग मात्र खरिद गर्ने गरेकै होइन । कहिले काँही अभाव हुँदा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि हामीले भारत सरकारसँग सिँधै खरिद गर्न खोजेका मात्र हौं । हामीले टेण्डर प्रक्रियामा नै मल खरिद गर्ने हो त्यसबेला सस्तो मूल्यमा मल ल्याउन सम्झौत गर्नेसँग हामीले खरिद गर्दछौं । तर रासायनिक मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा दैनिक जस्तै परिवर्तन हुने भएकाले कहिले काँही टेण्डर प्राप्त गरेको कम्पनीले आफूलाई घाटा हुने भएपनि ढिला गरिदिन्छ त्यस्तो अवस्थामा तत्कालको समस्या समाधान गर्न केही परिमाण भारतसरकारसँग खरिद गर्ने गरेका छौं ।
० त्यसो भए चालु आर्थिक वर्षका लागि मल पर्याप्त छ ?
छैन । हामीसँग पर्याप्त मल खरिद गर्नका लागि बजेट नै छैन । बजेट अभावका कारणले चालु आर्थिक वर्षमा हामीले मलको समस्या खेप्नु पर्ने अवस्था आउँछ । मन्त्रालयकै तथ्यांक अनुसार हामीलाई ७ लाख टन मल आवश्यक पर्दछ तर हामीले त्यसको आधा मात्र मल खरिद गर्न सक्ने बजेट प्राप्त गरेका छौं । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ भने डलरको मूल्य पनि बढेको छ । त्यही कारणले पनि हामीसँग भएको बजेटले रासायनिक मल पर्याप्त खरिद गर्न सक्दैनौ । चालु आर्थिक वर्षको बजेटले २ लाख ५० हजार टन मल मात्र खरिद गर्न सकिन्छ ।
० तर मन्त्रालयले मल प्रशस्त पुग्छ भन्छ त ?
मन्त्रालयले भनेको कुरा पनि ठिक हो । अहिलेलाई पुग्छ तर चालु आर्थिक वर्षको धान रोप्ने मौसम भनेको अर्को जेठ असारमा हो त्यो बेलामा बजेट भएन भने मल अभाव हुन्छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: मङ्लबार, साउन २२, २०७५