शुक्रबार, चैत्र १६, २०८०

रसुवामा वर्षे आलु रोप्न सुरु

रसुवा, फागुन । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जमिनको एक हजार छ सय ३० हेक्टर जमिनमा आलु रोप्न सुरु गरिएको बताए । यही फागुन १५ देखि २० गतेभित्र आलु रोप्ने काम सम्पन्न हुने जनाइएको छ ।

हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण आलु छिप्पिन समय लाग्ने भएका कारण अहिले रोपिएका आलु साउन १५ उतामात्र खानयोग्य हुन्छ । अहिले रोपिएको आलु २१ हजार मेट्रिकटन हुने अनुमान गरिएको बाली संरक्षण अधिकृत राधेश्याम बराइले बताए। रसुवामा उत्पादित आलु स्वादिलो हुने भएकाले नुवाकोट र काठमाडौँमा समेत खपत हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि उत्पादन तीव्र बनाउन नमुना क्षेत्रका रुपमा विकसित हुँदै गएको गतलाङ क्षेत्रका २२ अगुवा किसानलाई आवश्यक तालिम प्रदान गरी रोग र किराको प्रकोपबाट बच्न सक्ने क्षमताको ‘पिबिएस’ नामक आलुको बीउसमेत प्रदान गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन ७, २०७३