मङ्लबार, चैत्र ६, २०८०

रमाना नलिई दुवैतिर हाजिर गर्छन प्रदेशका निमित्त सचिव गदाल

काठमाडौं,फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कतिपय उपसचिव सरहका कर्मचारी फाजिलमा छन् । तर सोही मन्त्रालय मातहतमा रहेको ललितपुर जिल्लाको कृषि ज्ञान केन्द्रका प्रमुखका रुपमा गैरकानूनी रुपमा जिम्मेवारी सम्हालिरहेका छन् प्रदेश नं. ३ का निमित्त सचिव निर्मल गदाल ।
प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हालिरहेका निर्मल गदाल प्रदेशमा सचिवको जिम्मेवारी मात्र होइन रमाना नै नबुझि कृषि ज्ञान केन्द्र ललितपुरको समेत काम गर्दै आईरहेका छन् ।
साविकको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख रहँदा नै उनलाई प्रदेश मन्त्रालयमा काजमा पठाइएको थियो । चालु आर्थिक वर्षको श्रावणबाट जिल्ला कृषि विकास कार्यालय खारेजमा परेपछि उनलाई मन्त्रालयमा नै काम खटाइएको थियो । तर उनले काजमा नै लामो सयमदेखि मन्त्रालयका काम गरिरहेका छन् भने उनले ज्ञान केन्द्र र मन्त्रालय दुवैतिर हाजिर समेत गर्ने गरेका छन्,  दुवैतिरको जिम्मेवारी सम्हालेर आर्थिक कारोबार समेत गर्दै आईरहेका छ न् ।
प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा  सचिवका रुपमा पठाएका डा. वंशी शर्मा र मन्त्रीवीचको सम्वन्ध चिसिँदै गएपछि सो ठाउँमा प्रदेश नं. २ का सचिव विजयचन्द्र झालाई ल्याएको थियो । प्रदेश नं. २ का सचिवलाई सरुवा गरेर ल्याएको भएपनि मन्त्री र सचिववीचको सम्वन्ध सुधार गर्नुको साटो सम्वन्ध विगार्ने काम उनै गदालले गरेका थिए ।
आफू निमित्त सचिवका रुपमा काम गर्न पाउने भएपछि उनले मन्त्रालयमा आएका प्रदेश सचिवहरुको विपक्षमा मन्त्रीलाई कुरा लगाउँदै आउने गरेको आरोप समेत लागेको छ । मन्त्रालय गठन भएको वर्षदिन  नपुग्दै दूई सचिव परिवर्तन भईसकेपनि महिनौंदैखि मन्त्रालय सचिव विहिन अवस्थामा छ । गदालले नै निमित्त भएर काम गरिरहेका छन् ।
गदाल एकातिर प्रदेश मन्त्रालयको निमित्त सचिव भएर काम गरिरहेका छन् भने त्यही मन्त्रालयमा मातहतमा रहने कृषि ज्ञान केन्द्रको प्रमुख पनि आफै बनिरहेका छन् । गदाल मन्त्रालय काजमा गएको भएपनि तीन महिना काजको समय समाप्त भईसकेको छ । उनले काजको म्याद थप गरेका छैनन् ।  यही अवधिमा उनको सरुवा कृषि ज्ञान केन्द्र ललितपुरमा भएपनि रमाना नै नलिई केन्द्रको सम्पूर्ण जिम्मेवारी पनि सम्हालिरहेका छन् । यसरी एक व्यक्तिले प्रदेश मन्त्रालयको निमित्त सचिव र सोही मन्त्रालय मातहतको ज्ञान केन्द्र प्रमुखका रुपमा कुन हैसियतले काम गरिरहेका छन् ? तालुकदार मन्त्रालयले ध्यान दिन सकिरहेको छैन ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २५, २०७५