शुक्रबार, चैत्र १६, २०८०

युवा स्वरोजगारको रकमले राम्रो आम्दानी गर्दै युवा

तानसेन, २ फागुन  । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सस्तो ब्याजदरको बिना धितो कर्जा लिई व्यवसाय सञ्चालन गर्न पाएपछि यहाँका युवा खुसी बनेका छन् । स्वदेशमा केही गर्नुपर्छ भन्दै पाल्पा जिल्लाको छहरा गाविस–८ का गणेश न्यौपानेले युवा स्वरोजार कार्यक्रममार्फत रु दुई लाख कर्जा लिई गाईपालन व्यवसायबाट अहिले राम्रो आम्दानी गर्न थालेका छन् । स्वदेशमा कुनै रोजगारी नदेखेर उनी पहिला मलेसिया पुगेका थिए । उनी विदेशबाट फर्केर अहिले परोपकार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था छहराबाट रु दुई लाख कर्जा लिई गाईपालन व्यवसाय सञ्चालन गरेबापत राम्रो आम्दानी स्वदेशमा पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । ‘पैसा कमाउन विदेशमा जानुपर्छ भन्ने छैन’ न्यौपानेले भने, “मिहिनेत र जाँगर भएमा स्वदेशमा नै पैसा कमाइन्छ ।” उनीसँगै छहरा–६ का देवराज राउतले सहकारीबाट रु दुई लाख कर्जा लिई न्यौपानेसँगै संयुक्तरूपमा गाईपालन व्यवसाय सुरु गरेका हुन् । ‘युवा स्वरोजारले हामीलाई रु दुई÷दुई लाख कर्जा दिएपछि चारवटा जर्सी गाईपालन गर्न थालेका हौँ’, राउतले भने, “गाउँमा रु दुई÷दुई लाख ऋण पाइने थिएन, हामीजस्ता युवालाई स्वरोजगारले रु दुई÷दुई कर्जा बिनाधितोमा पाइयो, रकम हात परेपछि हामी दुईजनाले गाईपालन गर्न सुरु गरेका हाँै ।” गाईपालन व्यवसायबाट अहिले झन्डै रु २० हजारभन्दा बढी आम्दानी गरेका छन् । “दैनिक चारवटा गाईले झन्डै २५ देखि ३० लिटरसम्म दूध दिन्छन् । गाउँमा दूध बेच्न पाउँदा अझै फाइदा हुन्छ, तर, सधँै दूध गाउँमा नबिक्ने भएका कारण जिल्ला सदरमुकाम तानसेन पठाएका छौँ, न्यौपानेले भने, “गाउँमा नै दूध डेरी राख्ने सोचमा छाँै ।”
उनीहरू मात्र होइन, पाल्पा जिल्लाका १६६ जना युवा अहिले युवा स्वरोजगार कार्यक्रममार्फत स्वदेशमा नै व्यवसायी बनेका छन् । स्थानीयस्तरमा नै आम्दानीका स्रोत देखाइदिएका छन् । पैसा कमाउन विदेश जाने युवा स्वदेशमा पनि मिहिनेत गरेमा राम्रो आम्दानी गरी सफल व्यवसायी बन्ने सक्ने चुनौती पनि दिएका छन् । बिनाधितो र सस्तो ब्याजदरमा ऋण पाएपछि यहाँ युवा व्यावसायिक रूपमा गाईपालन गर्न आतुर देखिन्छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्थानीय सहकारी संस्थाबाट रु एक करोड ४४ लाख रकम बेरोजगार युवालाई कृषि, पशुपालन, च्याउखेती, कुखुरापालन, गाईपालनलगायतका शीर्षकमा कर्जा दिएपछि अहिले उनीहरू व्यवसायी बन्न पाउँदा निकै सुखी बनेका छन् । पाल्पाका छवटा सहकारीले युवालाई स्वरोजगार बनाउनका लागि २०६९ फागुन महिनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेका थिए । जिल्लाका सहकारीले सम्झौतापछि युवालाई स्वरोजगार बनाउनका लागि रु एक करोड ४४ लाख रकम सहकारीमार्फत परिचालन भएकोे जिल्ला संयोजन तथा अनुगमन समिति पाल्पाले जनाएको छ । युवा स्वरोजगार बनाउन सरकारले १२ प्रतिशत ब्याजदरमा कर्जा लगानी गरेको छ । नियमित किस्ता भुक्तानी गरी असल ऋणी बनेका अवस्थामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिको सिफारिसमा ऋणीले ६० प्रतिशत ब्याजदर मिनाहा हुनेछ । सरकारले नै व्यवसाय र ऋण लिन ऋणीको समेत बिमा पनि गरिदिने व्यवस्था गरेकाले युवा स्वरोजगार कार्यक्रमप्रति बढी आकर्षण भएको जिल्ला संयोजन तथा अनुगमन समिति पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २, २०७०