शनिबार, बैशाख ८, २०८१

युवाहरु विदेश पलायन हुनुमा कृषिमा उत्पादन घट्नु मुख्य कारण

काठमाडौँ, ९ पुस । राज्यले कृषिलाई प्रमुख आधार माने पनि जमिन बाँझो राख्नेलाई कारबाही गर्न नसक्दा उत्पादन घटेको तथ्याङ्क आज सार्वजनिक गरिएको छ । राष्ट्रिय कृषि गणना २०६८ को आज सार्वजनिक गरिएको तथ्याङ्कमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको उल्लेख छ । विसं २०६८ माघमा सुरु भई ०६९ असारमा सम्पन्न भएको नेपालको छैठौँ कृषि गणनाको आज राष्ट्रिय योजना आयोगका सदस्य सचिव युवराज भुसालले सार्वजनिक गर्नुभयो । छैठौँ कृषि गणनाले नेपालमा प्रत्यक्ष कृषक परिवारको चलनमा रहेको जग्गाको कूल क्षेत्रफल २५ लाख २५ हजार हेक्टर जमिन चलनचल्तीमा रहेको जनाएको छ ।  प्रतिवेदनअनुसार अन्नवालीमा नौ, धान र गहूँ बालीमा छ, मकै बालीमा १२ कोदो १९, जौ ३५, फापर ४०, कोषे दाल बालीमा २१ प्रतिशत, तोरी बालीमा १३ प्रतिशतले उत्पादन घटेको छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ३२ प्रतिशत योगदान रहेपनि  १० वर्षमा उत्पादन निराशाजनक ढङ्गले घट्नुमा वैदेशिक रोजगारीमा युवा जनशक्तिको पलायनलाई मान्न सकिन्छ ।  नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो । यस वर्ष अर्थात २०६८ को कृषि गणना छैठौँ कृषि गणना हो । यस वर्षको  कृषि गणना सूचना सङ्कलन र विश्लेषण गर्ने उद्देश्यले सञ्चालन भएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तम नारायण मल्लले बताउनुभयो ।  गणनामा मुख्यत जग्गाको उपयोग, स्थायी र अस्थायी वाली, पशुपक्षीको स्थिति, कृषि कार्यमा प्रयोग भएका औजार, पूँजीगत विवरण, सिँचाइ, कृषि ऋण, खाद्य पर्याप्तताको बारेमा तथ्याङ्क सङ्कलन  गरिएको छ । प्रतिवेदनअनुसार जम्माजम्मी ३८ लाख ३१ हजार कृषक परिवार कृषि पेसामा आबद्ध छन् । तीमध्ये एक लाख १६ हजारले खेतीपाती गरेको पाइँदैन । यस वर्षको कृषि गणना गर्दा बृहत् नमुना सर्वेक्षण विधिलाई अबलवन गरिएको थियो । जसअन्तर्गत प्रथम चरणमा ५२ हजार वडा तथा वडाका विभिन्न समूह र दोस्रो चरणमा एक लाख २४ हजार ४००  कृषक परिवारलाई अन्तरवार्तामा छनौँट गरिएको थियो । कृषक परिवारबाट प्रत्यक्ष अन्तरवार्ताद्वारा विस्तृत तथ्याङ्क सङ्कलन गरिएको उक्त गणना कार्यमा मूलतः चलन गरेको जग्गा, पशुपक्षीको सङ्ख्या, गणनाका दिनलाई सन्दर्भ समय मानी प्रश्न सोधिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अम्विका बस्यालले जानकारी दिनुभयो । कृषि गणना २०६८ ले हिमाल र पहाडको जिल्लामा कम्तीमा ४ आना, तराइमा ८ धुर जग्गामा खेती गरेको र १ गाई वा भैसी, कम्तीमा ५ वटा भेडा–बाख्रा, सुँगुर –वङ्गुरजस्ता चौपाया, र चल्ला र माउ गरी कम्तीमा २० वटासम्म हाँस तथा कुखुरा पालेको व्यक्तिलाई कृषक भनी परिभाषा गरेको छ । कृषि गणना २०६८ ले चितवन नेपालको प्रमुख कृषि क्षेत्र मानेको छ । त्यसैगरी सबैभन्दा कृषि क्षेत्रफल भएका जिल्लामा मोरङ, झापा, सर्लाही, सिराह, सुनसरी छन् भने कम क्षेत्रफल भएका जिल्लामा मनाङ, डोल्पा, रसुवा र हुम्ला भएको छ । कृषि गणना २०६८ ले नेपालमा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको छ । जसमध्ये २२ प्रतिशत कृषकले कृषि ऋण भएका जनाएको छ भने ४२ प्रतिशतले कृषि ऋण आवश्यक परेको बताएको छ । दस वर्ष पहिले कृषिमा ८ प्रतिशत महिलाको प्रत्यक्ष योगदान थियो भने २०६८ को कृषि गणनाले १९ प्रतिशत महिला कृषि पेसामा आबद्ध रहेको देखाएको छ । कृषि गणना २०६८ ले ८३ प्रतिशत जनताका प्रमुख पेसा कृषिलाई माने पनि ६० प्रतिशत जनताले उत्पादन वार्षिक उपभोगका लागि नपुग रहेका जनाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस ९, २०७०