बिहिबार, बैशाख ६, २०८१

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

म्याग्दी, ३ चैत । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन्  ।
चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख आम्दानी गरेका थिए ।
“यसपाली दुई सय घार मौरी बेच्ने लक्ष्य छ,” उनी भन्छन्  । गत वर्ष उनले  रु एक लाख ५० हजार बराबरको मह बिक्री गरेका थिए ।  अहिले उनले  एपी सेरेना जातको ९८ घार मौरी पालेका छन् ।  । केसीले प्रतिघार मौरी रु छ हजार ५०० तथा मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका छन् ।  ।
एउटै घारबाट वर्षमा तीन वटासम्म घार छुट्टाउन सकिने उनी बताउंछन् ।  कम समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने केसीको अनुभव छ । उनी जिल्ला कृषि विकास कार्यालयद्वारा प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भईसकेका छन् । ।

प्रकाशित मिति: बिहिबार, चैत्र ३, २०७३