बिहिबार, बैशाख १३, २०८१

मुस्ताङमा बर्षेनी स्याउको उत्पादन घट्दै

मुस्ताङ्ग, वैशाख। अर्गानिक स्याउका लागि प्रशिद्ध स्याउको दोस्रो राजधानीका रुपमा पनि चर्चित रहेको मुस्ताङमा यस बर्षमा स्याउको उत्पादन घट्ने संकेत देखिएको छ । नेपालमा स्याउ उत्पादन हुने पहिलो जिल्लाका रुपमा जुम्ला रहेको छ भने दोस्रो जिल्लाका रुपमा मुस्ताङ पर्दछ । १ हजार १ सय हेक्टरमा स्याउ खेती भइरहेको मुस्ताङ् जिल्लामा मात्रमा अहिले ३५० हेक्टरमा मात्र स्याउ उत्पादन भएको देखिन्छ । जिल्लामा स्याउसँगै ओखर, खुर्र्सानी, नासपती उत्पादन हुंदै आईरहेको छ । apple
आ.व.२०७२/७३ मा मुस्ताङ जिल्लामा जिल्लामा स्याउको उत्पादन घटेको छ । २०७१/७२ मा ४ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर आ.व. २०७२/७३ मा स्याउको उत्पादन घटेर जम्मा उत्पादन ४ हजार ५ सय मेट्रिक टन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय  मुस्ताङ्को तथ्यांकले देखाएको छ । चालु आ.वमा अझ स्याउको उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्याउको बगैचामा फूल कम फलेका कारणले उत्पादन कम हुने शितोष्ण बागवानी विकास केन्द्रका माझमस्ती फार्मका प्रवन्धक बालकृष्ण अधिकारीले  बताएका छन् । मुस्ताङ जिल्लामा स्याउ उत्पादन वातावरण अनुकूल भएको भएपनि दादे रोगको संक्रमण बढेका कारण पनि स्याउको उत्पादन घट्दै गईरहेका अधिकारीले बताए । गुणस्तरीय स्याउ उत्पादन हुने मुस्ताङ जिल्लामा स्याउको उत्पादन घट्न थालेपछि किसानहरु समेत चिन्तित हुन थालेका छन् ।
पछिल्लो समयमा बढ्दै गईरहेको जलवायु परिवर्तनले पनि स्याउ उत्पादनमा असर पारिरहेको विज्ञहरुले बताएका छन् । समयमा वर्षा नहुने, फूल फुल्ने समयमा फरक पर्दै जाने बेमौसममा स्याउको फूल फुल्ने गरेका कारण पनि मुस्ताङको तल्लो भेगमा घाँसा लेतमा स्याउ उत्पादन घट्दै गइरहेकोे छ ।
तल्लो भेगमा देखिएको समस्यालाई नआओस् भन्नका लागि मुस्ताङको माथिल्लो भेगका स्याउ उत्पादक किसानहरुले स्याउको बँगैचादेखि, उत्पादनको व्यवस्थापनमा समेत सुधार गर्दै गईरहेका छन् ।
सो क्षेत्रमा उत्पादन हुने स्याउको प्रमुख बजारमा रुपमा पाखेरा रहेको समेत जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विगतमा १० देखि १५ रुपैयाँ प्रतिकिलो स्याउ विक्री गर्दै आईरहेका किसानहरुले अहिले बोटबाटै ७० देखि ८० रुपैयाँसम्म पाउन थालेका छन् । धिरेन्द्र बस्नेत

प्रकाशित मिति: आइतवार, बैशाख १०, २०७४