मङ्लबार, चैत्र ६, २०८०

मातृका र चक्रपाणीको मिलेमतोमा ‘अमूल’ भित्रँदै

काठमाडौं, असोज । नेपालमा उत्पादन भईरहेको दूधले नै माग धान्न नसकिरहेको बेला भारतीय दूध कम्पनी अमूल भित्र्याउने खेलमा उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव र कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल गोप्य रुपमा लागिरहेका छन् ।
विगतको सरकारका पालामा पनि अमूलको चर्चा नभएको होइन । अमूल भित्र्याउँदा नेपाली किसानहरु मारमा पर्ने भन्दै त्यसबेला तात्कालिन पशुपन्छी मन्त्रालय भित्रको एउटा खेमा र दुग्ध विकास संस्थानका केही कर्मचारी त्यसको विपक्षमा उभिए जसले अमूलको चर्चा रोकियो पनि ।
अहिले फेरि दुई तिहाईको नेकपाको नेतृत्वको सरकारका उद्योग मन्त्री र पशुपन्छी विकास मन्त्री अर्वौको खेलमा भारतीय अमूल कम्पनी भित्र्याउने तयारीमा लागेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा दूधको विषयले स्थान पाउनु पर्ने भएपनि अहिले सो उद्योग भित्र्याउने खेलमा मन्त्री मातृका यादव लागेका छन् भने एउटै पार्टीका भएका कारण कृषि मन्त्री चक्रपाणी मातृकाको कुरामा मौन समर्थन गरिरहेका छन् ।
हुन त कालीमाटी तरकारी बजारको सिण्डिकेटका विषयमा यी दुई मन्त्रीवीच पानीबाराबारको अवस्था नआएको होइन । तर दुवै एउटै पार्टीका भएका कारण पार्टी नेतृत्वको दवावमा ‘काले काले मिलेर खाउँ भाले’ भन्ने उखान जस्तै बन्न पुगे ।
कृषि मन्त्री चक्रपाणी खनालले आफ्नै कार्यकक्षमा शुभकामना आदान प्रदान गर्ने नाममा पत्रकार बोलाए तर शुभकामना भन्दा पनि आफूले गरेका केही अनुगमनका कार्यक्रम बाहेक अरु नयाँ कुरा ल्याउन सकेनन् ।
सञ्चार माध्यममा आउन निकै रुचाउने कृषि मन्त्री खनालले भारतीय दूध कम्पनी अमूल भित्र्याउने कुरामा आफू चोखो बन्न खोज्दै उद्योग मन्त्रालयका कारण सो अमूल भित्रन खोजेको संकेत पनि गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वको गरिरहेको मन्त्रीले अमूल भित्र्ने कुरामा पन्छिन खोज्नु आम नेपाली किसानहरुलाई पंगु बनाउन खोजेका छन् ।
नेपालको वर्तमान सन्दर्भमा भारतीय अमूल कम्पनी काम छैन भनेर किन मन्त्री खनाल भन्न सकिरहेका छैनन् ? मातृका यादवको फेर समातेर अमूल भित्र्याउने खेलमा किन मौन समर्थन दिईरहेका छन् ? यदि पशुपन्छीको विषयमा यो वा त्यो विषयबस्तु प्रवेश गर्दछ भने तालुकदार मन्त्रालयको हैसियतले कृषि मन्त्रीले जवाफ दिनु पर्दछ । तर मन्त्री खनाल त्यसो गर्न तत्पर छैनन् । बरु मातृकाको ग्राण्ड डिजाइनमा अमूल भित्रँदै गरेको संकेत गर्दछन् । त्यही ग्राण्ड डिजाइनमा आफू समाहित हुँदै रसस्वाद लिन तयार भएर बसेका छन् । यदि कृषि मन्त्री खनाल उद्योग मन्त्रीको चंगुल मै छन् र आर्थिक चलखेलमा रमाउँदै अमूल भित्र्याउने अभियानमा जुटेका हुन् भने नेपाली पशुपन्छी क्षेत्रमा त्यस्तो दूर्भाग्य अरु केही पनि हुने देखिदैन ।

प्रकाशित मिति: बुधबार, अशोज २४, २०७५