शुक्रबार, बैशाख ७, २०८१

माछापालनको रकम सामाजिक क्षेत्रमा

कञ्चनपुर, भाद्र । बेलौरी नगरपालिका– ५ शोभातालका बासिन्दा माछापालनको रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन् । सडकमा ग्राभेल राख्न, विद्यालयको पूर्वाधार विकास गर्न, विवाह, ब्रतवन्ध, बिरामी पर्दा, स्थानीय युवाले सामाजिक क्षेत्रमा जनचेतना जगाउनका लागि गठन गरेको क्लब र असहायको भरणपोषणका लागि माछापालनबाट प्राप्त आम्दानी यहाँका बासिन्दाले खर्चदै आएका छन् ।
शोभाताल समितिमा आवद्ध ७९ जनाले सामूहिक रूपमा चार वर्षदेखि माछापालन गर्दैआएका छन् । माछापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ । माछापालन गरेबापत नगरपालिकालाई रु एक लाख ५० हजार तथा बाँकी रकम कोषमा जम्मा गरिँदै आएको समितिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।
“कोषको रकम समितिमा आवद्ध नागरिकको आर्थिक अवस्थमा सुधार ल्याउन सयकडा एक प्रतिशत व्याजमा कुखुरा, बंगुर, बाख्रा, उन्नत नश्लका गाई भैंसी पाल्न, किराना पसल सञ्चालन गर्न तथा सीपमूलक व्यवसायमा लगानी गर्दै आएको उनले बताए ।
समितिमा आवद्धलाई विवाह ब्रतबन्ध गर्न र बिरामी परेका बेला आर्थिक अभाव हुँदा कोषकै रकम उपलब्ध गराउने गरिएको छ । छोटो अवधिका लागि ब्याज नलिने चौधरीको भनाइ छ । व्यापार व्यवसायका लागि रु १० हजारदेखि रु एक लाखसम्म तथा सोही अनुपातमा विवाह, ब्रतवन्ध र बिरामीका लागि रकम उपलब्ध गराइन्छ ।
सामाजिक क्षेत्रको विकास र असहायका लागि हालसम्म रु चार लाख खर्च भएको छ । स्थानीय क्लबलाई प्रतिवर्ष रु सात हजारदेखि रु १० हजारका दरले रकम कोषबाट उपलव्ध गराइन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा कमन, नैनी, भ्याकुर, रोहु, सिल्भरग्रास र विगेट जातका माछापालन हँुदै आएको छ ।
गत वर्ष तालमा ४५ हजार माछाका भूरा राखिएकामा यस बर्ष ९१ हजार विभिन्न जातका भूरा राखिएको छ । स्थानीय बजारमै माछाको खपत हुन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको शोभाताल संरक्षणको अभावमा पुरिँदै गएको छ । तालको पश्चिमी क्षेत्रमा वर्षातको पानीसँगै बगेर आउने माटो र पातपतिङ्गरका कारण ताल पुरिन थालेको छ ।
“तालको तीन विघा क्षेत्र माटोले पुरिएको छ,” अध्यक्ष चौधरीले बताए । ताल संरक्षणका लागि रकम अभाव भएको छ । ताल पुरिने खतरा बढ्दै गएको छ । चैतदेखि तालको पानी सुक्न थाल्छ । ताल वरिपरिको अठार कठ्ठाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४