शुक्रबार, बैशाख ७, २०८१

महको उत्पादन ५० प्रतिशत घट्यो

रत्ननगर (चितवन), ७ फागुन । यसवर्ष नेपालमा मह उत्पादनमा ५० प्रतिशतले कमी भएको छ । नेपाल मौरीपालक महासंघले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी प्रतिकूल मौसम, शीतलहर र च्युरी उत्पादन नभएकाले मह उत्पादनमा ५० प्रतिशतले गिरावट आएको जनाएको छ । प्रशस्त सम्भावना भए पनि यसपालि च्युरीबाट मह उत्पादन अप्रत्याशित रुपमा घटेको महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए । लुम्बिनीमा भएको महासंघको केन्द्रीय भेलामार्फत पारित गरिएको २५ बुँदे घोषणापत्र समेत सोही अवसरमा सार्वजनिक गरिएको थियो । घोषणापत्रमा मह उत्पादनमा देखिएका समस्या र समाधानमा सरकार र व्यवसायीहरुले खेल्नुपर्ने भूमिका उल्लेख गरिएको छ । हाल नेपालमा विकासे र स्थानीय गरी जातको मौरीबाट १६ सय मेट्रिक टन मह उत्पादन हुँदै आएकामा यसवर्ष महको उत्पादनमा गिरावट आएकाले कृषकहरुलाई समस्या पारेको गौतमले बताए ।
नेपालमा अहिले करिब एक लाख ५० हजार मौरीका गोला छन् । त्यसमा मेलिफेरा ३५ हजार छ भने सेरेना गोला एक लाख १५ हजार रहेको महासंघले जनाएको छ । जसमा मेलिफेराबाट ७५ मेट्रिक टन र सेरेनाबाट ७२५ मेट्रिक टन मह उत्पादन हुने गरेको छ । नेपालमा हाल ५६ वटा सहकारी, ३६ वटा समूह, ४१ वटा स्रोत केन्द्र, ११८ वटा निजी फार्म रहेका र त्यसमा मौरीपालक सदस्यहरु १० हजार रहेका छन् ।  सरकारी स्पष्ट नीतिको अभावमा मौरीपालन व्यवसाय सोचेअनुसार फस्टाउन नसकेको संघका महासचिव हेमराज देवकोटाले बताए । महासंघको अध्ययनले नेपालमा च्युरी चरण क्षेत्रमा मात्रै १७ हजार मेट्रिक टन मह उत्पादन क्षमता रहेको छ । अन्य क्षेत्रमा ६ हजार मेट्रक टन मह गरी कुल २३ हजार मेट्रिक टन मह निकाल्न सकिने सम्भावना छ । नेपालमा २०५५ सालदेखि महासंघ गठन भएर काम गर्दै आएको छ । अहिले उत्पादित मह नेपालमै खपत भइरहेको छ । अहिलेको उत्पादनले आधा मात्रै बजार धान्न सकेको र अन्य बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । नेपालमा महको गुणस्तर राम्रो भए पनि महको प्रमाणपत्रकै अभावमा विदेश जान नसकेको व्यवसायीहरुले बताएका छन् । मौरी विकास शाखा गोदावरीकी कर्मचारी सावित्री बराल मौरीको गुणात्मकतामा विकास गर्नुपर्ने बताउछन् । चितवनका मौरी विज्ञ शिवप्रसाद रिजालले गुणस्तरीय रानो ल्याएर वनस्पतिमा सुधार हुन सके नेपालमा मह उत्पादन राम्रो हुने बताएका छन् ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, फाल्गुन ७, २०७०