शनिबार, बैशाख ८, २०८१

मलखादको अभाव,किसान चिन्तित

लहान, कार्तिक । हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् ।
धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हँुदा किसानहरू चिन्तित बनेका हुन् ।
सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । स्टोरमा युरिया र पोटास केही मात्रामा रहे पनि डीएपी मल सकिएको कम्पनीले जनाएको छ ।
रासायनिक मलको अभावमा हिउँदे बाली बिग्रिने हो कि भने चिन्ता बढ्ेको किसानले बताएका छन् । बजारमा गुणस्तरीय मल छैन्, सिरहाको नहरा सिगौलका किसान सत्रुधन यादवले भन्नुभयो, ‘‘कृषि सामग्री कम्पनीमा जाँदा मलखाद आएको छैन, भन्दै फर्काउँदै आएको छ ।”
अन्न भण्डारका रूपमा चिनिने सिरहामा सिँचाइको समस्या त छँदैछ त्यसमाथि मलखादको समेत अभाव हुदाँ खेतीपाती गर्न समस्या भइरहेको किसानको गुनासो छ ।
जिल्लामा मलको अभाव भएपछि किसान भारतबाट गुणस्तरहीन मलखाद ल्याउन बाध्य छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४