शुक्रबार, चैत्र १६, २०८०

मलको अभाव नहुने

काठमाडौँ, २२ चैत । कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक मात्रामा रासायनिक मलको मौज्दात रहेकाले खेतीको मौसममा मलको अभाव नहुने बताएको छ । गत वर्षको मौज्दातको अलावा चालु आवमा मात्र कम्पनीले युरिया, डिएपी र पोटास गरी एक लाख ५५ हजार मेट्रिक टन मल खरिद गरी अधिकांश बिक्रीसमेत गरिसकेको कम्पनीका प्रबन्धक नारायण मरासिनीले राससलाई बताए ।
ग्लोबल टेन्डरअन्तर्गतको ३५ हजार मेट्रिक टन युरिया शनिबारमात्रै कलकत्ता बन्दरगाहमा आइपुग्ने र १०/१२ दिनमा नेपाल आइपुग्ने बताउँदै प्रबन्धक मरासिनीले भने,–“यसबाहेक थप ३५ हजार मेट्रिक टन युरिया खरिदका लागि ग्लोबल टेन्डर भइसकेको छ ।” मलको आपूर्तिका लागि चालु आवमा सरकारले अनुदानस्वरुप छुट्याएको रु पाँच अर्ब ६३ करोडमध्ये हालसम्म रु तीन अर्ब १९ करोड  कम्पनीले प्राप्त गरिसकेकाले मल खरिद गर्नका लागि समेत आर्थिक कठिनाइ नभएको कम्पनीले जनाएको छ ।
चालु आवदेखि कम्पनीबाहेक साल्ट ट्रेडिङले पनि ८५ हजार मेट्रिक टन मल आपूर्तिको स्वीकृति पाएकाले आउँदा दिनमा कृषकलाई मलको अभाव नहुने बताइएको छ । देशभरि कृषकका लागि करिब चार लाख मेट्रिक टन मलको आवश्यकता हुने भए पनि खुला सिमानाबाट लुकीचोरी ४० प्रतिशत मल आयात हुने गरेको कम्पनीको जिकिर छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७०