शुक्रबार, चैत्र १६, २०८०

मन्त्रीको जिल्लामा सुन्तला विकास कार्यक्रम

लमजुङ, ८ पुस । आफ्नै जिल्लाका व्यक्ति कृषि विकास मन्त्री हुँदा पनि जिल्लामा कृषि विकास हुन नसकेको लमजुङ बासीहरुको गुनासो आईरहेका बेला लमजुङ जिल्लामा कृषि विकास मन्त्रालयले सुन्तलासुदृढीकरण कार्यक्रमले सञ्चालन गर्ने भएको छ । विदेशबाट सुन्तला आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको कृषि विकास कार्यालय लमजुङले जनाएको छ । tek
सुन्तला उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याउन लागिएको हो तर, हालसम्म पनि नेपालमा भारतबाट सुन्तला आयात भइरहेको छ ।
यसलाई रोक्न गत साउनदेखि सुन्तला सुदृढीकरण कार्यक्रम लागू गरिएको हो । सुन्तलाखेतीको अत्यधिक सम्भावना रहेको पश्चिमाञ्चलका सात जिल्ला र मध्यमाञ्चलका धादिङ जिल्लामा यो कार्यक्रम लागू हुने बताइएको छ ।
यी आठ जिल्लाका ४०० हेक्टर क्षेत्रफलमा सुन्तला सुदृढीकरण कार्यक्रम लागू गरिएको हो । उपयुक्त माटो र हावापानी रहेपनि आवश्यक स्याहार, सरकारी कार्यक्रम र किसानलाई आवश्यक तालिमको अभाव भएकाले उत्पादकत्व घट्दै गएको पाइएपछि सुन्तला सुदृढीकरण कार्यक्रम ल्याइएको हो ।
सुन्तलाखेतीलाई प्राथमिकतामा राखेर काम थालिएको र बगैँचा व्यवस्थापन कार्यक्रमका लागि लमजुङमा पनि बजेट विनियोजन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सिट्रस ग्रिनिङलगायतका रोगका कारण लमजुङलगायत सुन्तला उत्पादन धेरै हुने जिल्लामा उत्पादन घट्दो छ । लमजुङमा एक हजार २०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । यो वर्ष थप पाँच हेक्टर क्षेत्रफलमा सुन्तलाका उन्नत बिरुवा रोपी यो खेती विस्तार गरिएको समेत जिल्ला कृषि कार्यालय लमजुङले कृषिअनलाईनलाई बताएको छ ।

प्रकाशित मिति: सोमवार, पुस ८, २०७०