शुक्रबार, चैत्र १६, २०८०

मन्त्रालयलाई झुक्याउँदै भारतबाट दूध आयात

काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मन्त्री भए लगतै मुलुकभित्र कुनै पनि हालतमा ‘मिल्क होलिडे’ हुन दिन्न भन्ने अभिव्यक्ति दिएसँगै नेपाली ‘मिल्क होलिडे’ को चर्चा नै हराएको छ । यसका लागि मन्त्री खनालले भारतबाट आयात हुने धूलो दूधमा पूर्णतया रोक लगाएकै परिणाम हो भन्छन् दूग्ध क्षेत्रमा काम गर्नेहरु ।
तीन वर्ष अघि केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला कृषि विकास मन्त्रालय विभाजन गरेर कृषि र पशुपन्छी बनाइएको थियो । त्यसबेला पशुपन्छी विकास मन्त्रालयले दुई वर्षभित्र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउने घोषणा पनि गरेको थियो । तर घोषणा केवल कागजमा मात्र सिमित भयो । दुग्ध उत्पादन गर्ने किसानहरुको सहजताका लागि मन्त्रालयले कुनै पनि काम नगरेका कारण तोकेको समयभित्र दुधमा आत्मनिर्भर बन्न सकेन ।
सरकारले लिएको उदेश्य अनुरुप नै किसानहरुले दूधको उत्पादन बृद्धि गर्नका लागि विकल्प खोज्न थाले । पशुपालनक किसानहरुले चरनमा आधारित भएर दूध उत्पादनका लागि आफूलाई क्रियाशील गराए कै परिणाम दूधको उत्पादन क्रमश बृद्धि भएको पनि देखिन्छ । यद्यपी किसानहरुले अझै पनि चर्को महंगीका कारण दूधको उत्पादन लागत मूल्य पाउन सकेका छैनन् ।
अहिले साधारण हिसाव गर्दा पनि किसानहरुले उत्पादन गर्ने दूधको लागत मूल्य करीव ४७ रुपैयाँ पर्न आउने देखिएको छ । तर किसानहरुले सो अनुरुप दूधको मूल्य पाउन सकेको देखिँदैन । एकातिर किसानहरुले लागत मूल्य पाएका छैनन् भने अर्कोतिर सरकारी डेरी देखि निजी डेरी उद्योगहरुले समेत किसानहरुलाई यो वा त्यो बहानामा भुक्तानी रोकिरहने परिपाटी बसेको छ । जसले गर्दा किसानहरुलाई दूध उत्पादनमा उत्साह दिन सकेको देखिँदैन ।
कृषि मन्त्रीले भारतबाट दूध आयात गर्न रोकेसँग केही डेरी मालिकहरु इन्तु न चिन्तु अवस्थामा पुगेका छन् । किसानहरुबाट दूध लिनु भन्दा भारतबाट सस्तो मूल्यमा धूलो दूध ल्याउर घोल गरी विक्री गर्दा बढी नाफा आर्जन गर्न पल्किएकाहरुले नै अहिले नेपालमा दूध उत्पादन कमी भएको हल्ला पिटाउन थालेका छन् । केही सञ्चार माध्यम उद्योगीहरुको मतियार समेत बनेका देखिन्छन् ।
मन्त्रीलाई कुनै पनि बहानामा दूध अभावको दवाव दिने र केही समयको लागि भन्दै भारतबाट धूलो दूध ल्याउन खुल्ला गर्ने योजना बनाईरहेका छन् । भारतबाट धूलो दूध आयात गर्नका लागि माहौल मिलाउनका लागि डेरी उद्योगीहरुले सीताराम दूधमा मालिक सुमित केडियालाई जिम्मा दिएको श्रोतले बताएको छ ।
भारतबाट धूलो दूध आयात गर्न दिने बनाउनका लागि कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाललाई भेट्नका लागि केडियाले निकै नै प्रयास गरेका छन् । तर उनको प्रयास सफल हुन सकेको देखिँदैन । मन्त्री कुनै पनि हालतमा धूलो दूध ल्याउने नदिने अडानमा रहेका कारण पनि धूलो दूधका विषयमा मन्त्री खनालले कुनै पनि पक्षसँग भेट्न चाहेका छैनन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट धूलो दूध आयात गर्न प्रतिवन्ध नै लगाएका कारण अहिले केही व्यापारीहरुको मिलेमतोमा भारतबाट घोल दूध नेपालमा भित्रन थालेको छ । मलङ्गवाको सीमा नाका भारतको सीतामढीबाट घोल दूध आईरहेको छ । कास्टिङ्ग सोडा प्रयोग गरेर दैनिक डेढलाख लिटर दूध दैनिक आयात भएको छ । भारतको सीतामढीबाट दैनिक आयात भईरहेको दूध यदि नरोक्ने हो भने नेपाली दुग्ध उत्पादनमा सक्रिय किसानहरु मारमा पर्ने पक्का देखिन्छ । नेपाली दुग्ध उत्पादनमा सक्रिय किसानहरुलाई पलायन हुन नदिने पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई झुक्याए दूध आयात गर्ने माथि कार्वाही गर्नु पर्दछ ।  तस्वीर : कृष्ण भण्डारी

प्रकाशित मिति: सोमवार, भदौ १६, २०७६