बिहिबार, चैत्र १५, २०८०

मकवानपुर जिल्लामा दूधको खपत आधा घट्यो

मकवानपुर, वैशाख । लकडाउनको समयमा मकवानपुरमा ५० प्रतिशत दूध खपत घटेको छ । दुग्ध सहकारी सङ्घका अनुसार काठमाडौँ जाने दूध कम भएसँगै खपतमा कमी आएको हो । दैनिक २० हजार लिटर दूध काठमाडौँ पठाइरहेको भए पनि लकडाउनमा १० हजार लिटर मात्र पठाइरहेको सङ्घले जनाएको छ ।

करिब ४० हजार लिटर दूध सङ्कलन गरेर वितरण गर्दै आएको सङ्घले हाल २० हजार लिटर मात्र दूध सङ्कलन तथा वितरण गरिरहेको जनाएको छ । दूधको खपतमा कमी आएपछि सङ्घले किसानलाई एकदिन बिराएर दूध सङ्कलनमा ल्याउन अनुरोध गरेको छ भने वितरण संस्थालाई पनि एकदिन बिराएर खोल्न निर्देशन दिएको बताइएको छ ।

हाल मकवानपुरमा १७ दुग्ध उद्योग रहेका सङ्घले जनाएको छ । जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष वासुदेव अधिकारीले उद्योगमार्फत साधारण अवस्थामा २० हजार लिटर दूध वितरण हुने गरेको भए पनि हाल १० हजार लिटर दूध वितरण भइरहेकाले किसानलाई एकदिन बिराउन अनुरोध गर्नु परेको बताए । उनका अनुसार हाल किसानलाई दूधका परिकार बनाउन अनुरोध गरिएसँगै किसानले पनि एकदिनको दूध परिकार बनाउने र एकदिनको दूध सङ्कलनमा दिने गरेका छन् ।

उनले भने , “दूध बिक्री घटेपछि हामीले किसानलाई रोटेसन लगायौँ उनीहरुले पनि त्यसै गरे, अहिले उनीहरुले घिउ, पनिर बनाएको र कसैले घरबाट नै व्यापार गरेका छन् । भने कसैले आफैँले प्रयोग गरेको जानकारी गराए ।”

उनले हालको अवस्थामा दूध बोक्ने गाडीको ब्यानरमा गैरकानूनी सामान ओसारपसार भएको गुनासो आइरहेको बताउँदै सबै उद्योगको आफ्नो आधिकारिक सवारी नभएको र भाडाको सवारी प्रयोग गर्नुपरेका कारण त्यसको फाइदा गलत काम गर्नेले उठाइरहेको बताए। सङ्घका अध्यक्ष अधिकारी आफैँले पनि एकदिनको दूध घिउ र पनिर बनाउने गरेको जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–१२ का राजक पाठकले आफूले बनाएको घिउ र पनिर बेचेर आम्दानी भइरहेको बताए । हेटौँडा–१९ की लक्ष्मी बर्तौलाले पनि लकडाउनको समयमा घिउ जम्मा गरिरहेको जानकारी दिए।

हेटौँडा–४ की रुकु मैनालीले भने घरबाट नै दूध बिक्री गर्ने गरेको जानकारी दिए । उनले दैनिक २० माना दूध बेचिरहेको र अहिले किन्ने ग्राहक घरमै मास्क तथा पञ्जा लगाएर आउने गरेको बताए ।

प्रकाशित मिति: शुक्रबार, बैशाख १९, २०७७