शुक्रबार, चैत्र १६, २०८०

भूकम्पपीडित किसानलाई राहत

चितवन, असार ।  । भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना गाउँपालिकाबाट उक्त राहत वितरण शुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यक्रमअन्तरगत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुर्नस्थापन कार्यक्रम सञ्चालन गरी राहत दिन थालिएको हो ।
सो कार्यक्रम अन्तरगत यो वर्ष जिल्लाका ६१४ जना किसानले रु ६२ लाख छ हजार प्राप्त गर्ने छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार आएको राहत रकम वितरण गर्न शुरु गरिएको हो ।
समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असारको दोस्रो साता बसेकोे समितिको बैठकले सो राहत वितरणको अनुमोदन गरेको बताए । सोही निर्णयानुसार जिल्लामा राहत दिन थालिएको हो ।
यसरी राहत पाउनेमा दारेचोकका १५३, चण्डिभञ्याङका ८२, लोथरका १२० परिवार छन् । यस्तै अन्य राहत पाउने किसानमा कोराकका १०६ घर, कविलासका १६, सिद्धिका तीन, भरतपुरको एक तथा खैरहनी र रत्ननगरका ११÷११ घर रहेका पशुसेवा कार्यालय चितवनका प्रमुख डा सेढाईले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४