शुक्रबार, बैशाख १४, २०८१

बागलुङमा सामूहिक माछापालन

बागलुङ चैत । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए ।
थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भने – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उनको भनाइ छ ।

सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा गत वर्ष ३५ हजार भुरा माछा छोडिएको थियो । यो वर्ष एक लाख भुरा माछा छोडने तयारी भएको समूहका सदस्य बलबहादुर थापाले जानकारी दिए । “यो वर्षदेखि माछाको नर्सरी पनि बनाउने योजनामा छौँ”, थापाले भने– “अबदेखि माछाका भुरा पनि बेच्छौँ ।”

वार्षिक रु एक लाख भाडामा तङ्ग्राम धैरेनीमा लिएको २० रोपनी जग्गामा माछापालनसँगै बाख्रा, कुखुरा र हाँस पनि पाल्न थालिएको छ । पोखरीमा भुरा छोडेको छ महिनामा माछा बिक्रीका लागि तयार हुने गरेको र प्रतिकिलो रु ५००मा माछा बिक्री हुँदै आएको सदस्य थापाले बताए ।

प्रकाशित मिति: आइतवार, चैत्र १३, २०७३