बिहिबार, बैशाख १३, २०८१

बाँकेमा १२ प्रतिशत रोपाइँ

नेपालगञ्ज, असार २० । असारको तेस्रो साता सुरु हुन लागिसक्दासमेत बाँकेमा १२ प्रतिशत मात्र रोपाइँ भएको छ ।
समयमा पानी नपरेकोले २० प्रतिशतभन्दा बढी किसानले अझै पनि ब्याड राख्न नसकेको र हालसम्म जिल्लामा १२ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय, बाँकेले जनाएको छ ।
बाँकेका अधिकांश क्षेत्रमा किसानलाई खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने हुँदा यस पटक समयमा पर्याप्त पानी नपर्दा हालसम्म १२ प्रतिशत मात्र रोपाइँ भएको र सबै क्षेत्रमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालय बाँकेका सूचना अधिकृत धनबहादुर पुनले बताए। जिल्लाको ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए पनि हालसम्म करिब चार हजार हेक्टरमा मात्र रोपाइँ भएको उनले बताए ।
विगतका वर्षमा असारको तेस्रो सातासम्म बाँकेमा ३० प्रतिशतभन्दा बढी रोपाइँ भैसक्ने गरेकोमा यस पटक निकै कम भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बोरिङ र कुलोको सुविधा भएका क्षेत्रमा मात्र रोपाइँ सकिएको जानकारी गराउँदै सूचना अधिकृत पुनले सिँचाइ सुविधा पुगेका कचनापुर, नौबस्ता, सीतापुर र फत्तेपुरमा मात्र रोपाइँ भएको बताए ।
अन्य क्षेत्रका अधिकांश किसानले ढिला गरी ब्याड राखेका कारण पनि अझै ब्याड नै तयार नभएको र पर्याप्त पानी नपरेकोले रोपाइँ गर्ने अवस्था नै नरहेको जनाएको उनको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, असार २०, २०७४