बिहिबार, बैशाख १३, २०८१

बर्दिबासका किसान केराखेती तर्फ आकर्षित

बर्दिवास, चैत । महोत्तरीको उत्तरी क्षेत्रका किसान व्यावसायिक रूपमा केराखेतीतर्फ आकर्षित भएका छन् । बर्दिबास नगरपालिकाका पूmलबारीटोल, पशुपतिनगर, भङ्गाहा गाउँपालिकाका बिर्तापलार, रामनगर, हतिसर्वा र सिङ्ग्याहीका कम जग्गामा मनग्य आम्दानी गर्न व्यावसायिक रूपमा उन्नत जातको केराखेती गर्न आकर्षित भएका हुन् ।
परम्परागत रूपमा लगाइँदै आएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायत जातका केराका ठाउँमा किसानले रोवेष्ट्रा र उन्नत मालभोग जातको केराखेती गर्न थालेका छन् । सानो रुख, धेरै केरा फल्ने भएका कारण रोवेष्ट्रा जातको केरा किसानको रोजाइमा पर्ने गरेको छ ।
पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका भङ्गाहा गाउँपालिका रामनगर बस्तीका सत्यनारायण यादव १० कट्ठा जग्गामा लगाएको केराबाट बर्सेनि रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् । सानो रुख हुनाले ढल्ने सम्भावना कम हुने, बजारमा माग बढी रहेको र रोपेको नौ महिनामा नै उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा उपयुक्त भएको उनको भनाइ छ ।
एकपटक लगाएको केराले पाँच वर्षसम्म उत्पादन दिन्छ । केरा तरकारीका समेत प्रयोग गरिन्छ । सरकारी सेवाबाट अवकाश लिनुभएका हतिसर्वाको सग्रामपुरका किसान जासर यादव व्यावसायिक केराखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्नुपर्ने बताउछन् । बर्सेनि रोगका कारण केराखेतीबाट नोक्सानी व्यहोर्नु परिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत्र ९, २०७३