बिहिबार, बैशाख १३, २०८१

बढ्दो माछा पालन र ट्राउट

shyamsपछिल्लो समयमा नेपाली युवाहरु माछा पालनतर्फ आकर्षित भए । माछा पालनका लागि कतिपयले अध्ययन वा तालिम लिए भने कति लगानी गर्ने कार्य मात्र गरेको पनि देखिन्छ । माछा पालनमा धेरै कमाउने सपना सजाएकाहरु भने टाउट माछा पालन गर्ने लहै लहैमा होमिए । शुरुवातीमा टाउट माछा पालनमा लगानी गर्नेहरुले धेरै नै फाइदा गरेको देखेर टाउटमा लगानी गर्नेहरु प्रशस्त आएको पनि देखिन्छ । विदेशबाट फर्किएका युवाहरुमात्र होइन स्वदेशमा नै विभिन्न पेशा सम्हालेकाहरुले पनि टाउट माछा पालनमा सक्रिय भएको देखिन्छ । आजभन्दा दुई तीनबर्ष अगाडिसम्म दुई हजारसम्ममा विक्री हुने टाउट माछा यतिखेर हजार बाह्रसयमा पनि विक्री हुन मुश्किल भएको लामो माछा व्यवसायीहरुले बताउन थालेका छन् । यसले के बुझिन्छ भने लगानी गर्नेहरु टाउटका लागि आँखा चिम्लेर देखासिकी गदै लगानी गरे तर त्यही लगानी उठ्न नसकेपछि व्यवसायबाट पलायन भएकाहरु पनि देखिन्छन् । हुन त टाउट माछा व्यवसाय गर्नका लागि सरकारले अनुदानको व्यवस्था गरेको कतै कतै देखिन्छ । माछाको व्यापार गर्नेहरु धेरैले जनकपुर वा नेपालकै माछा भनेर भारतबाट माछा आयात गरी विक्री वितरण गर्ने गरेका घटनाहरु पनि प्रशस्त देख्न सकिन्छ । तर टाउट माछा नेपाली हावापानी र पहाडि परिवेशमा हुने गरेकाले पनि झुठको खेती गर्नेहरुलाई एक कदम पछाडि पारिदिएको भने स्पष्ट छ । टाउटमा जसरी लगानीका अवसरहरु बढ्दै छन् त्यत्ति नै धेरै चुनौतिहरु पनि थपिँदै जानुले केही सयम पछाडि व्यवसाय नै धरापमा पो पर्ने हो कि शंका उब्जन थालेको छ ।
नुवाकोट होस् वा काभ्रे सिन्धुपाल्चोक, धार्दि लगायतका पहाडि जिल्लाहरुमा टाउटको व्यवसाय प्रशस्त देख्न सकिन्छ । जसले युवा जनशक्तिलाई रोजगारीको ढोका त खुलायो तर व्यवसायी बनाउने हो वा होइन यसै भन्न सकिने अवस्था छैन् । विज्ञहरुले जति नै ठूला कुरा गरिरहेका भएपनि टाउट पालनका लागि सानो लगानीले सम्भव देखिँदैन । लगानी अनुसार प्रतिफल पनि पाउने अवस्था देखिएको छैन । पछिल्लो समयलाई मात्र हेर्ने हो भने पनि गुणस्तरीय भुरा वा दाना उत्पादन हुन छाडिसकेको छन् गुणस्तर भन्दा पनि संख्यात्मक रुपमा भुरा उत्पादन गरी टाउट पालनमा सक्रिय भएका किसान वा व्यवसायीहरुलाई रातह हुन सकिरहेको छैन । हुन पनि टाउट माछाको भुरा उत्पादनका लागि ६ सयदेखि ७ सयग्रामका माउबाट भुरा माछा निकाल्ने गरिएको भुरा उत्पादनका संलग्नहरुले नै बताएका छन् । जसले सोचे अनुरुपको प्रतिफल दिन सक्दैन । सोचे अनुरुपको प्रतिफल लिनका लागि गुणस्तरीय भुरा उत्पादन हुनु आवश्यक देखिन्छ । अर्कोतिर सरकारले विभिन्न दातृनिकायहरुको सहयोग किसानहरुलाई व्यवसायिकतातिर जोड दिनका लागि अनुदान स्वरुप रकम उपलब्ध गराउँदै आईरहेको देखिन्छ । यस्तो रकम सदुपयोग भन्दा पनि दुरुपयोग हुने गरेका प्रशस्त उदाहरणहरु समाजमा देखिन्छन् । सरकारले नेपाली कृषिलाई परम्परागतबाट व्यवसायिकतातिर जोड दिने हो भने रकम होइन सीप बाँड्नु पर्दछ । प्रविधि बाँड्न सक्यो भने मुलुकको आर्थिक समृद्धता हुन सक्ला ।
टाउट माछाका लागि पनि कृषि विकास मन्त्रालय मातहतका केही आयोजनाहरुले अनुदान उपलब्ध गराएको देखिन्छ । तर ती अनुदानको रकम दीर्धकालिन विकासका लागि प्रयोग भएका छन् वा छैनन् त्यो विचारणीय छ । सरकारले जस्तो सुकै योजना ल्याएपनि दीर्धकालिन विकास हुने खालको हुनु पर्ने थियो त्यो हुन सकेको देखिँदैन । त्यसको मारमा टाउट माछा पनि परेको छ । टाउट माछामा साना किसान वा व्यवसायीहरु भन्दा पनि अन्य पेशा वा व्यवसाय गरेर देखावटी रुपमा लगानी गर्नेहरु नै बढी भेटिन्छन् । साधारण रकमले नपुग्ने भएका कारण पनि यो अवस्था आएको हो भन्दा फरक नपर्ला । टाउटका सन्दर्भमा कृषि अनुसन्धान परिषद्ले जसो जसो भन्यो त्यसै त्यसै गर्ने हो भन्नेहरुका लागि व्यापार फाइदामा जाला वा घाटामा त्यो आफ्नो ठाउँमा होला तर जति चर्चा र बहस टाउट माछामा हुने गरेको छ त्यो भने यथार्थ भन्दा बाहिर नै देखिन्छ । यसो भन्नुको अर्थ टाउट माछा व्यवसाय घाटामा नै छ भन्न खोजिएको होइन गुणस्तर र दीर्घकालिन अवस्थालाई पनि हेर्नु आवश्यक छ । टाउटका लागि गरिने लगानी त्यसका लागि आवश्यक पूर्वाधार एवं भौगोलिक अवस्थालाई पनि विचार गर्नु पर्दछ । टाउटका लागि आवश्यक पानी, दाना र उत्पादन पश्चात बजारीकरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । नेपालमा टाउट माछाको व्यवसायीकरणको अवस्था र वर्तमान अवस्थालाई मात्र मूल्यांकन गर्ने हो भने पनि आकाश जमीनको अन्तर भेट्न सकिन्छ । यो अन्तर किन र कसरी भयो भनेर खोज्ने जिम्मा कृषि अनुसन्धान परिषद् वा मत्स्य विकास निर्देशनालय कै होला ? यद्यपी टाउट माछामा गरिएको लगानी र गर्न लागिएको लगानी मात्र पनि करोडौं पुगिसकेको होला । जुन अन्य माछा पालनको तुलनामा अत्यन्त महंगो देखिन्छ । नेपालभरी दर्जनौका संख्यामा खुलेका टाउट माछा पालन कृषि व्यवसायको लागि नवीनतम् चाँडै फस्टाएको व्यवसायका रुपमा लिने गरिएको छ । जुन व्यवसायको दीगोपनाका लागि सोच्नु पर्ने बेला आएको छ । -श्याम श्रेष्ठ

प्रकाशित मिति: आइतवार, माघ १९, २०७०