शुक्रबार, चैत्र १६, २०८०

बढ्दै छ जिउँदो माछाको बिक्री

काठमाडौँ पुस ६ । उपत्यकाभित्र माछाको बढ्दो मागका कारण नेपाली उत्पादनले नभ्याईरहेको भन्ने चर्चा चलिरहेका बेला भारतबाट आयातित विभिन्न माछामा फर्मालिनको प्रयोग भएको प्रमाणित भएपछि काठमाडौँमा जिउँदो माछाको व्यापार बढेको छ । कुुखुराको मासुमा भरपरिरहेकाहरुलाई पनि वर्डफलुका कारण यतिखेर कुखुराको मासुको विकल्पमा माछा रोज्न थालेका छन् । जसको कारण चितवन जिल्लाबाट ट्रयाङ्करमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछा बिक्री वितरण गर्न थालिएको छ ।
फर्मालिन प्रयोग भएको माछा काठमाडौँमा भेट्टिएपछि काठमाडौँमा जिउँदो माछाको व्यापार बढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पशु तथा मत्स्य निर्देशक डा टेकबहादुर गुरुङले भनाई रहेको छ । राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलङ्की, बसुन्धरालगायतका चोकमा जिउँदो विभिन्न जातका माछा रोजीरोजी उपभोक्ताले खरिद गरिरहेका छन् । अहिले उपत्यकाभित्र प्रतिकेजी रु ४०० देखि रु ४५० सम्ममा जिउँदो माछा बिक्री हुने गरेको छ । नेपालको उत्पादनले नधान्ने भएपछि भारतबाट माछा आयात हुनु स्वभाविकै भएको नार्कका डा. गुरुङ्गको भनाई रहेको छ । गुरुङले भन्छन् “फरमालिनको प्रयोग नगरी भारतदेखि माछा आयात हुनै सक्दैन ।” फरमालिन एक प्रकारको रसायन हो । यसको प्रयोग लाशलाई ताजा बनाई राख्न गरिन्छ । फरमालिन प्रयोग भएको माछा मासु खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सकको भनाइ छ ।fish

नेपालमा कुल माछाको उत्पादन वार्षिक ५३ हजार मेट्रिक टन छ । स्वदेशी उत्पादनले नधानेकै कारण भारतको मद्रासबाट नेपालमा माछा आयात हुने गरेको गुरुङको भनाई रहेको छ । गत वर्षको तथ्याङ्कअनुसार नेपालमा भारतबाट ९० प्रतिशत माछा आयात भएको देखिन्छ नेपालमा करिब दुई अर्बको माछा खपत हुने व्यवसायीहरु बताउँछन् । पछिल्लोपटक नेपालमा क्रमशः माछा उत्पादनमा आकर्षण बढ्दै गएको छ । गत तीन महिनाअघि कुखुरामा देखिएको बर्डफ्लु रोगको महामारीका कारण अप्रत्यासित माछापालनतर्फ मानिसको आकर्षण बढ्दै गएको एक प्रारम्भिक तथ्याङ्कबाट देखिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । नार्कका अनुसार राजधानीमा बर्डफ्लुको महामारी फैलिएलगत्तै माछापालन र व्यापारमा आर्कषण बढेको बताइएको छ । हाल राजधानीमा ट्राउट, कमन कार्प, असला, ग्रास कार्प, एसियन मगुर, सिल्भर कार्पलगायतका जिउँदो माछा बिक्री वितरण हुने गरेको छ । राजधानीमा विशेष गरी चितवन जिल्लामा उत्पादन भएका माछा भित्रने गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०७०