शुक्रबार, चैत्र १६, २०८०

बगैँचा व्यवस्थापन गर्न कृषकलाई रु ३८ लाख अनुदान

बाबियाचौर ४ फागुन । जिल्ला कृषि विकास कार्यालय म्याग्दीले सुन्तला बगैँचा व्यवस्थापन गर्नका लागि कृषकलाई रु ३८ लाख अनुदान दिएको छ । सुन्तला बगैँचा व्यवस्थापनका लागि आवश्यक पर्ने उपकरण र औषधि खरिदका लागि कृषकलाई अनुदान दिएको कार्यालयले जनाएको छ । विभिन्न पाँच वटा समूहमा आबद्ध कृषकलाई प्रतिहेक्टर रु ७६ हजारका दरले अनुदान दिइएको कार्यालयका बागवानी विकास अधिकृत वासुदेव पौडेलले बताउनुभयो । म्याग्दीमा यस वर्षदेखि सुरु भएको बगैँचा सुदृढीकरण योजनाअन्तर्गत बगैँचाको सरसफाइ, व्यवस्थापन र बिरुवाको उपचार गर्न सिकेचर, पुलिङ मेसिन, बाल्टी, तौलने मेसिनलगायतका उपकरण र औषधि खरिद गर्न अनुदान दिइएको हो । जिल्लाभर २३९ हेक्टर क्षेत्रफलमा उत्पादन दिने सुन्तलाका बोट रहेकामा पुराना र रोग किराको समस्या देखिएका ५० हेक्टर क्षेत्रफल बगैँचा व्यवस्थापन गर्न कृषकको समूह गठन गरी कुल रु ३८ लाख अनुदान परिचालन गरिएको बागवानी विकास अधिकृत वासुदेव पौडेलले बताउनुभयो । प्रति १० हेक्टर बराबर एक कृषक समूह गठन गरिएको छ ।
प्रत्येक समूहका पाँच जना किसानलाई छनोट गरी उपकरण प्रयोग एवं बिरुवाको उपचारका विषयमा प्राविधिक तालिम दिई बगँैचा व्यवस्थापनका लागि स्रोत व्यक्तिको रूपमा परिचालन गरिएको छ । ताकम, देवीस्थान, मुदी, मराङ, बिम, ओखरबोट, अर्मन, बाबियाचौर, बरङ्जा, सिंगा, भकिम्ली, घतान, पिप्ले, भगवती, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दाना गाविसका सुन्तला बगैँचाको सुदृढीकरण गर्न लागिएको हो । बगँैचा सुदृढीकरण योजनाअन्तर्गत चार चरणमा रोग किराको समस्या देखिएका पुराना बोट भएका बगैँचाको सरसफाइ, अनावश्यक हाँगाको काँटछाँटसँगै रोग किरा लाग्न नदिनका लागि निलोतुथो लगाउन थालिएको जिल्ला कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । व्यवस्थापकीय कमजोरीका कारण उत्पादनशील सुन्तलाका बिरुवा जरा कुहिने र ग्रिनिङ रोगका कारण नष्ट हुन थालेपछि रोग लाग्न नदिन सरसफाइ गर्ने र रोगी बिरुवालाई आवश्यक पोषकतत्वको आपूर्ति गराई उत्पादनशील बनाउन कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताउनुभयो । प्राविधिक ज्ञान र सीपको अभावमा बगँैचा व्यवस्थापन नहुँदा रोग किराको समस्या बढेको र उत्पादन घट्न थालेको अवस्थामा उपकरण र औषधि खरिदका लागि अनुदान एवं तालिम प्राप्त भएकाले कृषकलाई राहत मिलेको ताकमका कृषक भेषनाथ गौतमले बताउनुभयो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ४, २०७०