बिहिबार, बैशाख ६, २०८१

फोहोरबाट कम्पोस्ट मल

सुन्दरीजल, १ माघ । भान्साबाट निस्कने फोहोरका कारण शङ्करापुर साँखु क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुन थालेपछि भान्साबाट निस्कने फोहोरलाई कम्पोस्ट मल बनाई खेतबारीमा उपयोग गर्ने काममा साँखुवासी जुटेका छन् । साँखु क्षेत्रलाई दुर्गन्धमुक्त र सँगैको शालीनदीलाई बागमती र विष्णुमतीजस्तो प्रदूषित बन्न नदिनका लागि स्थानीयवासीले शङ्करापुर फोहोरमैला व्यवस्थापन समिति गठन गरेका छन् । व्यवस्थापन समितिको संयोजनमा साँखु क्षेत्रका २० जनालाई इभालुएसन नेपालको सहयोगमा भान्साको फोहोरलाई कम्पोस्ट मल बनाउने प्रविधि सिकाउने तीनदिने तालिम सम्पन्न गरिएको अध्यक्ष आनन्दबहादुर श्रेष्ठले जानकारी दिनुभयो । भन्साको फोहोर घरमा एउटा बाकसमा राखिने र त्यहाँ गड्यौला राखेर पालिने अनि गड्यौलाले त्यो दुर्गन्धित हुने फोहोरलाई खाएर सुगन्धि कम्पोस्ट मल बनाउने प्रविधि सुरु गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । साँखु सुन्टोल, पुखुलाछी र वज्रयोगिनी गरी तीनवटा गाविस रहेको साँखु क्षेत्रमा एक हजार १०० घर र ३० हजार जनसङ्ख्याको बसोबास रहेको छ । तालिमप्राप्त २० जनालाई परिचालन गरी साँखु क्षेत्रका सबै घरमा फोहोर व्यवस्थापनका लागि जनचेतना जगाउने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । साँखु क्षेत्रमा जम्मा हुने फोहोरका कारण ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको शाली नदी पनि बागमती र विष्णुमतीजस्तै प्रदूषित भई स्वस्थानीको धार्मिक तथा संस्कृति नै खतरामा पर्ने देखिएकाले सरसफाइको यो अभियान चलाइएको समितिका सदस्य एवम् संस्कृतिविद् प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । समितिले भोलिदेखि लाग्ने शाली नदी मेलामा सहभागी हुन आउने भक्तजनले ल्याएका प्लास्टिकका झोलालाई पनि सङ्कलन गरी मेला सम्पन्नपछि व्यवस्थित गरिने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७०