बिहिबार, बैशाख १३, २०८१

फूलमा आत्मनिर्भर हुन सकेन नेपाल

काठमाडौं, कात्तिक  । तिहारको बेला सबैभन्दा बढी फूल प्रयोग हुने समय हो । कृषि प्रधान मुलुक भएपनि नेपाल आफै भने फूलमा पनि आत्मनिर्भर हुन सकेको छैन ।

यस वर्ष पनि प्रयोग हुने कूल फूलको २० प्रतिशत फूल भारतबाट आयात गरिएको छ । तिहारको अवसर पारेर झण्डै १० करोड रुपैयाँ बराबरको फूल आयात भएको फ्लोरिकल्चर  एसोशिएसन नेपालले जनाएको छ ।

पछिल्लो समय फूल खेतीमा भएको विस्तारका कारण आयात पनि घट्दै गइरहेको फूल व्यवसायीको भनाइ छ । तथ्यांक विभागको पुष्पखेती सर्वेक्षणका अनुसार नेपालमा जम्मा १ सय ४० हेक्टर क्षेत्रफलमा फूल खेती गरिएको छ ।
तिहारमा अरु जातकाभन्दा सयपत्री र मखमली फूलको माग धेरै हुने गर्दछ ।

राजधानीको मूख्य बजारहरुमा अहिले फूल व्यापार गर्ने र किन्नेको विहानैदेखि घुईंचो लागेको छ । नेपालमा फूललाई अझै पनि धार्मिक पूजाआजाका समयमा मात्र प्रयोग गरिन्छ ।

सरकारले सहयोग नगरेकाले फूल व्यापारका लागि मौसम र हावापानी अनुकूल रहेपनि व्यवसायिक रुपमा फूलले बजार नपाएको गुनासो फूल उत्पादकको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १, २०७४