मङ्लबार, चैत्र ६, २०८०

प्रासको सरुवामा पनि मन्त्री कै हस्तक्षेप

काठमाडौं, असोज । यो मौसम सरुवाको मौसम होइन भन्लान् । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवाको मौसम नै हुँदैन । मन्त्री वा उनका सल्लाहकारहरुले चाहेको बेला जुनसुकै बेला पनि सरुवा वा कर्मचारी परिवर्तन हुन सक्छन् । को कहाँ पर्दछन् भन्ने कुरा पत्तो नै हुँदैन । त्यत्तिमात्र होइन । एक ठाउँमा सरुवा भईसकेको कर्मचारी फेरि अर्को ठाउँमा सरुवा हुन सक्छ । अहिले त्यस्तै भएको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागतिर ।
साधारणतया उपसचिव सरह कर्मचारीलाई सरुवा गर्ने अधिकार सम्वन्धित मन्त्रालयका सचिवलाई नै हुने गर्दछ भने शाखा अधिकृत सररका कर्मचारीलाई भने विभागको महानिर्देशकले नै गर्न सक्ने अधिकार समेत दिइएको हुन्छ ।
तर पशु सेवा विभागले भर्खरै गरेको सुरुवा हेर्ने हो भने प्राइभेट कम्पनीमा कर्मचारीलाई खटनपटन गरे जस्तो देखिएको छ । एक साता अगाडि सरुवा भएको कर्मचारी अर्को हप्ता अन्तै सरुवा भएका छन् । यसको खास कारण भनेको प्राविधिक सहायकहरुको सरुवामा मन्त्रीको हस्तक्षेप नै हो । पशु सेवा विभागबाट विभिन्न सेवा केन्द्र तथा ज्ञान केन्द लगायतका कार्यालयमा सरुवा भईसकेका व्यक्तिहरुलाई पनि मन्त्री सचिवालयको हस्तक्षेपमा पुन सरुवाको नामावली तयार गरी स्वीकृत गरिएको थियो । पटक पटक गरी स्वीकृत भएका सरुवा वदर हुँदै सदर हुँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री चक्रपाणी आएपछि साधारण जिम्मेवारी दिएको जस्तो गरिएपनि प्राविधिक सहायक स्तरको सरुवामा पनि मन्त्रीको टेवलसम्म पुग्नुलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दुर्भाग्य हो भन्दा उचित होला ।

प्रकाशित मिति: आइतवार, अशोज २१, २०७५