बिहिबार, बैशाख १३, २०८१

प्रविधिको प्रयोगले धान उत्पादन बृद्धि गर्न सकिन्छ

bhawa
भवप्रसाद त्रिपाठी
वरिष्ट वैज्ञानिक एवं संयोजक
अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान

० धान दिवसको वीचको एक वर्षमा यहाँहरुले के गर्नु भो ?
गत वर्ष हामीले धान दिवस मनायौं र यो वर्ष पनि मनाउँदै छौं । धान दिवस मनाउने सन्दर्भमा कृषि विकास मन्त्रालय, कृषि विभाग समेतको संयुक्त प्रयासबाट धान दिवस मनाउन शुरु गरेको १३ वर्ष पूरा भएको छ । आषाढ १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानले पनि हरेक वर्ष धान दिवस मनाउंदै आएको छ । यो वर्ष पनि नेपाल सरकारले १४ औं धान दिवस मनाउने तयारी गरिरहेको छ । हामी त्यसमा पूर्ण रुपमा सहभागी हुने छौं र धान उत्पादन बृद्धि गर्नका लागि नेपाल सरकार, कृषि अनुसन्धान परिषद्, कृषि विभागसँग अनुसन्धानका क्षेत्रमा हातेमालो गर्दै आईरहेका छौं ।
० धान दिवस मनाईरहँदा अहिलेको धानको उत्पादनदेखि सन्तुष्टि हुनुहुन्छ ?
विगतका वर्षहरुको तुलनामा यस वर्ष मौसमले साथ दिएका कारण राष्ट्रिय स्तरमा नै धेरै धान उत्पादन भएको छ । मौसमले साथ दिएर मात्र पनि हुँदैन विभिन्न निकायले गरेको प्रविधिको प्रयोगको प्रयासले पनि उत्पादन बढेको छ । यो वर्षको धान उत्पादनलाई हेर्ने हो भने धेरै नै खुशी हुने अवस्था छ । यस्तै उत्पादन हामीले बढाउँदै गयौ भने धानको उत्पादनमा हामी धेरै नै माथि जान्छौं ।
० यस वर्षको जस्तै धान उत्पादन भयो भने आत्मनिर्भर हुने भईयो ?
नेपाल सरकारको तीन वर्षभित्र धानमा आत्मनिर्भर हुने योजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत अगाडि बढिरहेको छ । त्यही परियोनजामा नै आधारित रहेर हामी अहिले अगाडि बढिरहेका छौं । त्यही योजना अनुरुप कसरी अगाडि बढ्ने भन्ने किसिमले हाम्रा प्राविधिक साथीहरु विशेष गरी इरीको तर्फबाट पाँच जना मध्यपश्चिम सुदूरपश्चिम र पूर्वमा काम गरिरहनु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुपरजोन, जोन, पकेट र व्लकहरुमा हामीले सहयोग गरिरहेका छौं । त्यस्तै चैते धानका लागि पनि हामीले विगतका वर्षहरुदेखि नै नेपाल सरकारको चैते धान कार्यक्रम र मसिनो धान कार्यक्रमलाई पनि पूर्ण रुपमा नै सहयोग गर्दै आईरहका छौं ।
० यो वर्ष त मौसमले साथ दियो धान उत्पादन धेरै भयो तर आगामी वर्षमा मौसमले साथ दिएन भने के होला ?
तपाईले अत्यन्तै सान्दर्भिक प्रश्न गर्नु भो । खास गरी हामीले सिंचाईको क्षेत्र बढाउँदै गयौं भने निकट दुई वर्षमा हाम्रा धेरै सिंचाई आयोजनाहरु पूरा हुँदैछन् । जसले गर्दा ५०÷६० हेक्टर जमीनमा सिंचाई हुने नै निश्चित छ । त्यसैले नेपाल सरकारको चैते धान कार्यक्रम छ । त्यो चैते धान क्षेत्र हामीले बढायौं र त्यही चैते धानलाई आवश्यक पर्ने नयाँ प्रविधि र जातहरु हामीले विकास ग¥यौं भने तीन चार वर्षमा हामी धानमा आत्मनिर्भर हुन्छौं ।
० धान खेतीमा काम गर्ने जनशक्ति अभाव छ भनिएको छ नि त ? जनशक्तिको अभावनमा उत्पादन बढी लिन सकिन्छ ?
अव हामीले यान्त्रिीकरणमा जानै पर्दछ । विशेष गरी तराई क्षेत्रमा यान्त्रिकीकरणमा जोड दिनु पनि पर्दछ किन भने जवसम्म मेशिनको प्रयोग गर्दनौ तवसम्म हाम्रा युवाहरु आकर्षण पनि हुँदैनन् । कृषिमा लागेका युवाहरुलाई पनि सजिलो तरीकाबाट कसरी खेती गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउँदै आकर्षण गर्नु पर्दछ । त्यसका लागि पनि ट्याक्टरहरुको प्रयोग गर्ने, धान काट्ने मेशिनहरुको प्रयोग गर्ने, रोप्ने मेसिन, धानलाई लाईन लगाएर त्यसमा रहेका झारपात निकाल्ने मेसिनहरु छन् त्यसलाई प्रयोग गरेर हामीले जनशक्तिको अभाव पूर्ति गर्न सक्छौं । यान्त्रिकरणको प्रयोग नगरी भावी पुस्तालाई कृषिमा आकर्षण गराउन असम्भव नै छ ।
० सरकारले तीन वर्षभित्र धानमा आत्मनिर्भर हुने नीति एकातिर अगाडि सारेको छ भने अर्कोतिर धानबाली छाडेर नगदे बालीमा उत्प्रेरित पनि गरिरहेको छ यसले के बताउंछ ?
किसानहरुले वर्षभरी नै पानी पाउने हो भनेदेखि पहिलो प्राथमिकता धानलाई नै दिन्छन् । जहाँ बाटो नजिक, बजारको नजिक छ त्यतातिरका किसानहरु तरकारी खेतीतिर आकर्षित हुन्छन् त्यो स्वभाविक पनि । हामीले खाद्य सुरक्षा र पोषण सुरक्षाको कुरा गर्दा तरकारी उत्पादनमा पनि जानु अनिवार्य छ । यदि सिंचाइ सुविधा हामीले बढाउँदै गयौं भने किसानहरु बर्षे धान र चैते धानमा बढी आकर्षित हुन्छन् । हामीले चैते धान उत्पादन गरिरहेका किसानहरु माझ पोष्ट हार्भेष्ट विज्ञहरु लगेर सुकाउने र भण्डारण गर्ने समयमा हुने गरेको समस्यालाई मध्यनजर राखेर उत्पादित धानको सुरक्षित भण्डारण गर्ने तरीकालाई पनि सिकाउने काम गरेका छौं ।
० किसानहरुको भनाई के छ त?
किसानहरुको भनाई के छ भने धान काटेर थन्क्याईसकेपछि पनि २० देखि ३० प्रतिशत नष्ट हुने गरेको छ । त्यसलाई कसरी कम गर्ने भन्ने चिन्ता नै प्रमुख रुपमा रहेको छ । त्यसैले अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान किसानहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारसँगको सहकार्यमा कसरी किसानहरुले उत्पादन गरेको धानलाई पोष्ट हार्भेष्टका समयमा कम क्षति गर्ने भन्ने विषयका कार्यक्रम अगाडि बढाउने छौं । पोष्ट हार्भेष्टका समयमा कृषि उपजको नष्ट हुने परिणामलाई कम गर्नसक्यौं भने पनि आत्मनिर्भर हुने कुराको नजिक पुग्छौं । र हामीले धानको उत्पादन बृद्धि गर्दै छिमेकी राष्ट्रहरुलाई विक्री गर्न सक्ने क्षमता हामीसँग छ ।
० त्यसो भए हामी धानमा आत्मनिर्भर हुन सक्छौं ?
विगतका समयलाई हेर्ने हो भने हामीले धान विदेश निर्यात गरेको अवस्था पनि हो । वीचको केही वर्ष हामीले धान उत्पादन बढी गर्न सकेनौं । युवाहरु विदेश पलायन हुने कारणले गर्दा पनि यो अवस्था आएको हो । जनशक्तिको अभाव पनि त्यसको प्रमुख कारण थियो । अव नेपालमा पनि धान उत्पादनका लागि विभिन्न खालका यन्त्रहरु आईसकेका कारणले हिजो परम्परागत रुपमा नै धान रोप्नु पर्ने वाध्यता हटिसकेको छ । हामीसँग धान रोप्न मेशिनदेखि काट्ने मेसिनसम्म आईसकेका कारण पनि धान उत्पादनको लागत मूल्य घटाउने देखि थोरै जनशक्तिले धेरै उत्पादन लिन सक्ने अवस्था अहिले छ । त्यसकारण पनि हामी धानमा आत्मनिर्भर हुन सक्छौं भन्ने कुरामा म ढुक्क छु । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, असार १२, २०७४