बिहिबार, बैशाख ६, २०८१

प्रयोगविहीन छन् व्यावसायिक कृषि विकास आयोजनाका कृषि भवन

तेह्रथुम, असोज । तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन् । पाँच वर्षअघि यहाँको कृषिउपजलाई बजारीकरण गर्न बनाइएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन् । निर्माण गरेर प्रयोग मै नआई भवन जीर्ण बन्न लाग्दासम्म पनि यिनको प्रयोग र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।
नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित व्यावसायिक कृषि विकास आयोजनाअन्तर्गत कमर्सियल एग्रिकल्चर एलायन्स, तत्कालीन जिल्ला विकास समिति र उपभोक्ताको गरी रु ७२ लाख ३८ हजारको लागतमा निर्माण गरिएका भवन प्रयोगमा नआई भत्किने अवस्थामा पुगेका छन् ।
स्थानीय किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने प्रमुख उद्देश्यले भवन निर्माण गरिए पनि उपभोक्तालाई पायक नपर्दा भवन प्रयोगमा आउन नसकेको स्थानीयवासी बताउँछन् । बजारभन्दा करिब आधा किलोमिटर टाढा बनाइएका ती भवनमा उपभोक्ताले किनबेचका लागि आउन जानै असजिलो भएको बताए ।
जिरिखिम्तीबजार यहाँ नजिकमा पर्ने मोराहाङ र हाल म्याङलुङ नगरपालिकामा पर्ने साविकका जिरिखिम्ती, पिप्ले, साब्ला र आम्बुङ गाविसका किसानको प्रमुख कृषि बजार हो ।
तर कृषिउपजको बजार, खपतको अध्ययन र भौगोलिक स्थानको अध्ययन नै नगरी भवन निर्माणमा ठूलो धनराशि खर्च गरिँदा लाखौँ रुपैयाँ बालुवामा पानी खन्याएझैँ भएको छ । पाँचवटा सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पानी ट्यांकी र फोहर संकलन गर्ने भवन प्रयोग र सरसफाइ अभावमा प्रयोगमै नआई पुरानाजस्ता देखिन्छन् ।
स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री वितरण गर्ने र स्थानीयस्तरमा खपत हुन नसकेका उत्पादनलाई जिल्ला बाहिर निर्यात गरी किसानको आयमा वृद्धि गराउने उद्देश्यले भवन निर्माण गरिएको निर्माण समितिले जनायो । तर प्रयोगमा ल्याउन उपभोक्ताले अटेर गरिदिँदा प्रयोगमा ल्याउन नसकिएको निर्माण समितिका उपाध्यक्ष नारायण आचार्यले बताए ।

प्रकाशित मिति: मङ्लबार, अशोज ३, २०७४