बिहिबार, चैत्र १५, २०८०

प्रमुख चुनौती भनेको नै उत्पादकत्व बढाउनु हो

dr-hariabahadur-kc
डा. हरिबहादुर केसी
कार्यक्रम प्रमुख
राष्ट्रिय आलु बाली विकास कार्यक्रम

० मुलुकलाई दुई बर्षभित्र आलुमा आत्मनिर्भर बनाउने भन्ने हुने कुरा छ हुन्छ ?
यो बर्षको नीति तथा कार्यक्रममा दुई बर्षभित्र आलुमा आत्मनिर्भर हुने लक्ष्य कृषि विकास मन्त्रालयले लिएका हो । त्यो सम्भावनामा हामी काम गरिरहेका छौं । खास गरी आलु नेपालमा माग अनुरुप ९० प्रतिशत उत्पादन नेपाल भित्रै नै गरिरहेका छौं भने १० प्रतिशत मात्र भारत लगायत अन्य मुलुकबाट आउने गरेको छ । आयात गर्नु परेको १० प्रतिशत आलु बृद्धि गर्नु भनेको ठूलो कुरा पनि होइन । हामीले प्रति हेक्टर १३ देखि १३.५ मेट्रिक टन उत्पादन गरिरहेका छौं । हाम्रा छिमेकी राष्ट्रहरुले भने प्रति हेक्टर १७ देखि १८ मेट्रिक आलु उत्पादन गरिरहेका छन् । अहिले हामीले २ लाख हेक्टर जमीनमा आलु उत्पादन गरिरहेका छौं । यो हिसावले अव आलुमा आत्मनिर्भर बन्नका लागि प्रति हेक्टर बढीमा २ मेट्रिक टन उत्पादन बढाउने हो भने हामी आत्मनिर्भर बन्छौं ।
० त्यसका लागि के के गरिरहनु भएको छ त ?
त्यसका लागि दुई तीनवटा कुरा जरुरी छ । सवैभन्दा पहिले गुणस्तरीय आलुको बीउको जरुरी छ । त्यसैगरी सिंचाई र यान्त्रिकीरणका कुरा छन् । त्यससंगै रोग कीरा व्यवस्थापन र प्रविधिका कुराहरु पनि जरुरी छ । त्यसकाकारण हामीले किसानका आवश्यकता परिपूर्ति गर्नका लागि नै महत्व दिईरहेका छौं । गुणस्तरीय बीउ उत्पादन बृद्धि गर्नका लागि यो बर्ष चारवटा टिस्यु कल्चर प्रयोगशाला स्थापना गर्ने हाम्रो कार्यक्रम छ । त्यो सवै ५० प्रतिशत अनुदानमा निजी कम्पनी तथा संस्थाहरुलाई दिने छौं । यो बर्ष हामीले प्रयोगशाला स्थापना गर्न सक्यौं भने हामीसंग गुणस्तरीय बीउ पर्याप्त हुने छ र हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं ।
० किसानहरु गुणस्तरीय बीउको अभाव खेपिरहेका छन्, यहाँहरु दुईबर्षभित्र आत्मनिर्भरताको कुरा गर्नु हुन्छ कसरी उत्पादन बढ्छ ?
किसानहरुको भनाई पनि सहि हो । अहिलेसम्मको बीउ उत्पादन वितरणको अवस्था हेर्ने हो भने नेपालमा २० देखि २५ प्रतिशतसम्म मात्र गुणस्तरीय बीउ भएको हामीलाई जानकारी छ । खास गरी विभिन्न फार्महरुबाट उत्पादन गरेको, किसान समूहहरुले उत्पादन गरी कोल्ड स्टोरमा भण्डारण गरेर सिजनमा निकाल्ने गरेको बीउलाई गुणस्तरीय बीउ भनेर हामीले भनेका छौं । तर किसानहरुले खान राखेको आलुलाई पनि बीउका रुपमा प्रयोग गर्ने गरेको छ । भारतीय बजारबाट आयात गरिएका बीउ पनि गुणस्तरीय नभएको गुनासो आईरहेका छन् । त्यसलाई सुधार गर्नका लागि नै हामी लागिरहेका छौं । त्यसका लागि नै टिस्यु कल्चर प्रयोगशाला मार्फत उत्पादन भएका बीउहरु किसान मार्फत उत्पादन गर्ने कार्यक्रम अगाडि सारेका छौं । त्यत्तिमात्र नभई जिल्ला कृषि विकास कार्यालयहरु मार्फत हामीले काम गर्ने भएकाले विभिन्न ठाउंमा आलु बीउ उत्पादन गर्ने किसान समूह, सहकारीबाट उत्पादन भएका बीउहरुलाई भण्डारण गर्ने व्यवस्था गरेका छौं । जसका लागि हामीले तालिम प्रदान गर्ने गरेकाले पनि विगतमा भन्दा धेरै सुधार भएको छ । तर किसानहरुले खोजे जस्तो बीउ अझै नभएको अवस्था पक्कै हो ।
० नेपालमो आलुको आवश्यकता कति हो ?
नेपालमा एफ.ए.ओको तथ्यांकले प्रति व्यक्ति प्रति बर्ष ८० केजी उपभोग गर्ने देखिन्छ । यो तथ्यांक प्रत्येक दिन बढ्दै गईरहेको छ । हामीले २८ लाख मेट्रिकटन आलु उत्पादन गर्ने गरेका छौं भने २ लाख मेट्रिक टन आयात भएको अवस्था छ । आलु खाद्य सुरक्षाको पनि महत्वपूर्ण बाली भएको खासगरी उच्च हिमाली क्षेत्रमा आलुको खपत बढी नै देखिन्छ । अर्को कुरा अहिले आलुको प्रोसेसिङ बढिरहेको छ । आलु चिप्स बनाउने उद्योगहरु खुलिरहेका छन् । आयात निर्यातको तथ्यांक हेर्ने हो भने । पछिल्लो समयमा आलुको आयात घट्दै गईरहेको छ । तीन बर्ष पहिलो ४० करोडको आलु चिप्स आयात हुन्थ्यो भने गत बर्ष ५ करोडको मात्र आयात भएको छ । यसले के प्रष्ट पार्दछ भने हाम्रो उत्पादन बृद्धि भईरहेकोछ ।
० आलु उत्पादन बृद्धि गर्नका लागि समस्या चाहिं के हो त ?
आलु उत्पादनका बृद्धि गर्नका लागि प्रमुख समस्या भनेकै गुणस्तरीय बीउ र सिंचाई हो । हिउंदे बाली भएका कारण सिंचाई सुविधा पु¥याउन नसकेका ठाउंमा आलु उत्पादन घटेको छ । कृषिमा काम गर्ने श्रमिकहरुको अभाव बढ्दै गईरहेको छ । आलु उत्पादन गर्ने क्षेत्रफल दिनप्रतिदिन घट्दै गईरहेको छ । अहिले प्रमुख चुनौती भनेको नै उत्पादकत्व बढाउनु नै हो । उत्पादकत्व बृद्धि गर्नका लागि बीउ, सिंचाई, जनशक्तिको अभाव पूरा गर्न यान्त्रिकीकरणमा जोड दिएर समस्या समाधान गर्न सक्यौ भने हामी आत्मनिर्भर हुने मात्र होइन निर्यात नै गर्न सक्छौं ।
० किसानहरुको माग के छ ?
किसानहरुको प्रमुख माग भनेकै गुणस्तरीय बीउ, सहज रुपमा मल आपूर्ति नै हो । आलुका लागि बजारीकरणको समस्या छैन । किसानहरुले उत्पादन गरेको आलु घरमा राख्न सम्भव नहुने भएकाले उत्पादित आलुलाई लामो समयसम्म सुरक्षित गर्नका लागि ठूलो परिणाममा भण्डारण गर्न सक्ने शीत भण्डार किसानहरुले मागिरहेका छन् । ती अलावा आलु उत्पादनलाई पनि आधुनिकीकरण गर्नका लागि यन्त्र उपकरणहरु अनुदानमा उपलब्ध गराउने मागहरु किसानहरुको छ ।
० किसानहरु प्राविधिक समस्याहरु पनि त व्यहोर्नु परेको छ नि होइन ?
प्राविधिक समस्या त छ नै । आलु उत्पादनका क्षेत्रमा मात्र होइन समग्र कृषि क्षेत्रमा नै कृषि प्रसारको पहुंच पुग्न सकेको छैन । कृषिमा जनशक्ति अभाव छ । अहिले भईरहेका जनशक्तिले १५ देखि २० प्रतिशतभन्दा बढी किसानहरुलाई सेवा दिन सक्ने अवस्था छैन । अव भने एक गाउं एक कृषि प्राविधिकको व्यवस्था विस्तारै बढ्दै गयो भने त्यो समस्या पनि समाधान हुन्छ भन्ने आशा गर्ने ठाउं प्रशस्त छ ।
० अन्त्यमा आलु उत्पादनमा क्रियाशील किसानहरुलाई के भन्नु हुन्छ ?
आलु उत्पादनमा क्रियाशील रहनु भएका किसानहरुलाई आलुको बीउ गुणस्तरीय मात्र रोजेर रोप्नुस् । जसले गर्दा रोगकीराहरुमो समस्या पनि कम हुन्छ, उत्पादन पनि बढि हुन्छ । बैज्ञानिक एवं प्रविधि युक्त तरीकाले आलु उत्पादन गर्नका लागि जिल्ला कृषि विकास कार्यालहरुले बेला बेलामा तालिम प्रदान गर्ने गर्दछन् । खास गरी बीउ उत्पादन गर्ने किसानहरुलाई बीउ आलुहरु खानको लागि विक्री वितरण नगरौं भण्डारण गरेर राखौं अर्को मौसममा बीउ कै रुपमा विक्री वितरण गर्न सक्छौं । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, पुस ११, २०७३