शनिबार, बैशाख ८, २०८१

प्रतिष्पर्धा गर्ने किसिमले अनुदानको व्यवस्था गर्नु पर्दछ

ganapati pandy

गणपति पाण्डे,
सुन्तला विकास अधिृकत
सुन्तलाजात फलफूल विकास केन्द्र, पाल्पा

सुन्तलाजातका फलफूल केन्द्रले के गरिरहेको छ त ?
यस केन्द्रको नाम सुन्तलाजातको फलफूल विकास केन्द्र भएकाले स्वभाविकै सुन्तलाजातका फलफूलमा नै जोड दिँदै आएका छौं । जसले किसानको आयस्तरबृद्धि गरी सफल जातको अध्ययन केन्द्रले गर्दछ र अध्ययन पछि किसानहरुको वितरण गर्दै आईरहेका छौं । विशेष गरी मूल बीउ उत्पादन र त्यसपछि फलफूल उत्पादन र सिजन अनुसारका तरकारीका वीउ उत्पादन गरी विक्री वितरण गर्दै आईरहेका पनि छौं। अर्को कुरा हामीले वितरण गरेको वीउ गुणस्तर र फरक नपर्ने किसिमको हुन्छ । यसका लागि हामी पाल्पा, गुल्मी अर्घाखाँचीसम्म पनि पुगेका छौं ।
सुन्तलाजातका फलफूलको व्यवसायीकरण पाल्पामा कत्तिको भएको देख्नु भएको छ ?
केन्द्रको आफ्नो जग्गाको ५० प्रतिशत उपयोग भएको थियो भने अहिले ९० प्रतिशत जग्गालाई उपयोग गरिसकेका छौं । २०६१ सालमा २ लाख ६१ हजार राजश्व संकलन भएको यस केन्द्रमा यस बर्षको राजश्व करिव १६ लाख पुगेको छ । यसको मतलव के हो भने पाल्पामा सुन्तलाजातका फलफूलको उत्पादनमा बृद्धि भएको छ । र यसबाट किसानहरुको सेवा पनि राम्रैसाग भएको छ । यसले गर्दा किसानहरुमा जागरुकता एकदमै बढ्दै गईरहेको छ । सुन्तलाखेतीबाट बढी फाइदा हुन्छ भन्ने कुरा किसानहरुले थाहा पाईसक्नु भएको छ । यो भेगमा सुन्तलाजातको फलफूलको व्यवसायिकता गर्ने किसानहरु बढ्दै गईरहेका छन् । अहिलेको अवस्थामा हेर्ने हो भने एउटै किसानले १० बोट विरुवा माग्न आउनुले व्यवसायिकतातिर फड्को मारेको पुष्टि गर्न सकिँन्छ । कागतीको ५ हजार विरुवा माग्न अर्घाखाँचीबाट किसान आएका छन् । तर मैले एकचौटी ५ हजार विरुवा रोप्न सल्लाह दिएका छन् । सुन्तला रोपिएका बगैचाकालाई व्यवस्थापन गर्न नसकेका कारण रोग बढ्दै गईरहेका पनि छ त्यसैले पहिले बगैचाको व्यवस्थापन गर्ने सक्ने मात्र विरुवा लगाउने सल्लाह दिइएको छु ।
यहाँकै भनाई अनुसार किसानहरुको विरुवा माग बढ्दै गईरहेको छ । तर, बजारीकरणको समस्या पनि प्रशस्तै छ रे नि त?
सुन्तलाजातका फलफूलमा बजारीकरणका लागि त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन । सुन्तलाका लागि हाम्रो बजार प्रशस्तै छ । हाम्रो देशमा भन्दा धेरै पछाडिमात्र भारतमा सुन्तला फल्ने भएका कारण भारत हाम्रो सुन्तलाका लागि ठूलो बजारका रुपमा विकसित भएको छ । यद्यपी आन्तरिक बजार पनि त्यत्ति नै धेरै छ । आधिकारिक रुपमा नै भन्ने हो भने पनि पाल्पाका सुन्तलाहरु निकासी कति भईरहेको छ भन्न सकिँदैन तर यसलाई आधिकारिक रुपमा नै निकासीको व्यवस्था गर्नु पर्दछ भन्ने लाग्दछ । पाल्पाको सुन्तलाका लागि पाक्नु भन्दा अगाडि नै बगान नै किन्न आउनेहरु पनि छन् । गतबर्षको अवस्था हेर्ने हो भने पनि किसानहरुले प्रतिकेजी ५० रुपैयाँ त बोटमा नै पाएका छन् । त्यसकारण पनि बजारीकारणको समस्या छ भन्न मिल्दैन । बरु उत्पादनमा समस्या छ भन्न सकिन्छ । नयाँ नयाँ रोगहरु आएको छ । किसानहरुले वगैचाको व्यवस्थापन गर्न सक्नु भएको छैन ।
यो समस्याबाट मुक्त पाउन राज्यले के गर्नु पर्दछ त ?
सुन्तलाका लागि यो बर्षदेखि विशेष कार्यक्रम आएको छ । राज्यले सुन्तलाखेतीका लागि यो बर्ष सम्वोधन गरेको छ । यसले कृषि क्षेत्रमा केही गर्दैछ भन्ने आशा सवैमा पलाएको छ । खुल्ला सिमानाका कारण भारतसँगको प्रतिष्पर्धा गर्नु पर्ने देखिएको छ । भारतले त्यहाँका किसानहरुलाई दिने सुविधा र हामीलाई दिएको सुविधा धेरै नै कम भने हो । महत्वपूर्ण कुरा के हो भने भारतका किसानहरुको कृषि उत्पादनमा लागत मूल्य कम छ । कारण जग्गा सम्याउनेदेखि खाडल खन्ने वीउ बिजनसम्म सरकारले गर्दिने गरेको छ । किसानका पक्षमा हरेक कृषि सामग्रीहरुमा भारत सरकारले अनुदानको व्यवस्था गरेको छ । जसले त्यहाँको उत्पादन सजिलै नेपाल आउन सक्छ तर, हाम्रो उत्पादन भारत त्यत्ति सजिलै जान सक्दैन । त्यसकारण पनि सरकारले किसानहरुलाई भारतीय कृषि उत्पादनसँग प्रतिष्पर्धा गर्ने किसिमले अनुदानको व्यवस्था गर्नु पर्दछ । उत्पादनमा बृद्धि गर्न र निर्यात बढाउने कुरामा राज्यले अलि ध्यान दिनु अनिवार्य छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ९, २०७०