शुक्रबार, चैत्र १६, २०८०

प्याक्टको सहयोगमा दुई करोडको दुग्ध प्रशोधन केन्द्र

दमक, १४ माघ । झापाको महारानीझोडामा झन्डै रु दुई करोडको लगानीमा दुग्ध प्रशोधन केन्द्रको स्थापना हुने भएको छ ।

व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत झापाका ३ वटा सहकारीको संयुक्त प्रयासमा आयोजना सुरु हुन लागेको हो ।
स्थानीय कृषकलाई दुग्ध उत्पादनमार्फत आत्मनिर्भर बनाउनका लागि सहकारीसँगको सहकार्यमा सो कार्य अगडाडि बढाइएको बताइएको छ । केन्द्रले दैनिक दुई हजार लिटर दूध प्रशोधन गरी बजारमा लैजाने योजना बनाएको छ ।’
आयोजनाको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानी रहने जनाइएको छ । सो अन्तर्गत साना किसान सहकारी संस्था महारानीझोडाले उत्पादनका लागि रु ३५ लाख, महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले प्रशोधनका लागि रु एक करोड र मेची सहकारी संस्था दमकले बजारीकरणमा रु ३५ लाख लगानी हुने बताइएको छ ।
आयोजनाको काम यसैवर्षभित्र सुरु गर्ने तयारी भइरहेको सहकारीले जानकारी दिएको छ । आयोजनासँग सम्झौता गर्न बाँकी रहेको छ । सहकारीले एक वर्षमा लगानी सुरक्षित गरी अर्को वर्षबाट नाफा हुने लक्ष्यसमेत राखेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७१