मङ्लबार, बैशाख ११, २०८१

पोखरा महानगरले पशुपालकलाई अनुदान दिने

पोखरा, १२ मंसिर । पोखरा लेखनाथ महानगपालिका पशु सेवा शाखाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सर्वजनिक गरेको छ । शाखाले वर्षभरि पशुपालनका क्षेत्रमा गरिने कार्यक्रम सार्वजनिक गरेको हो ।
पशु क्षेत्रका लागि आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ४० लाख रुपियाँ विनियोजन भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार एक करोड ७३ लाख रुपियाँ कृषकलाई अनुदानका रूपमा वितरण गरिने छ भने बाँकी बजेटले पशुपालक किसानका लागि गोष्ठी, अन्तत्र्रिmया, तालिम, लगायतका कार्यक्रम आयोजना गरिने छ । पशुपालक किसानलाई प्रोत्साहन गर्ने गरी अनुदानका रूपमा रकम वितरण गरिने उनले बताए । अनुदान वितरणमा यस वर्ष केही ढिला भएको समेत बताए । देश नयाँ संरचनामा गएका कारण बजेट निकासामा समस्या भएर ढिला भएको उनले बताए । राज्य पुनर्संरचनामा ढिलाइ हँुदा बजेट कार्यान्वयन केही पछि आएको छ । शाखाले कृषकलाई विभिन्न शीर्षकमा वितरण गर्ने अनुदानका लागि सरोकारवालासँग प्रस्तावसमेत आह्वान गरिसकेको छ ।
पशुपक्षी बजार प्रवद्र्धनका लागि सहकार्य मार्फत मासु पसल, डेरी पसल, चिलिङ भ्याट, मिल्क एनालाइजर र क्यान, पशु हाटबजार बजार व्यवस्थापन र पशु सङ्कलन केन्द्र स्थापनामा अनुदानका लागि कृषकको प्रस्ताव आह्वान गरिएको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक अर्यालले बताए । पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रममार्फत विभिन्न कार्यक्रमका लागि एक करोड छ लाख ४१ हजार रुपियाँ वितरण हुनेछ । यसमा पशु सङ्कलन केन्द्र स्थापना तथा व्यवस्थापन, पशु हाटबजार व्यवस्थापन, दुग्ध उत्पादक सहकारी तथा उद्योगलाई चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान लगायत छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १२, २०७४