शुक्रबार, चैत्र १६, २०८०

पूर्वि मोरङमा समूह तरकारी खेती

मोरङ माघ । मोरङको भौडाहा गाविसका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आएका छन् । आफ्नो १० कट्ठा क्षेत्रफलमा उनले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा करिब रु दुई लाखसम्म आयआर्जन गर्ने गरेको बताए ।
त्यस्तै, मोरङ कटहरी–९ नयाँबजारका कृषक श्यामकुमार साहले पनि तरकारी खेतीबाट राम्रै आयआर्जन गर्दै आएको देखिन्छ । उनले करिब एक बिगाहा जमिन भाडामा लिएर १५ वर्षदेखि तरकारी खेती गर्दै आएका मात्र छैनन् पाँच जनालाई वार्षिक रोजगारी समेत दिएका छन् । morang
उनले मौसमी र बेमौसमी दुवै खालका तरकारी लगाउने गरेका छन् । उनले आफूले तरकारी खेतीबाट मात्रै वार्षिक सबै खर्च कटाएर ४/५ लाख आम्दानी गर्ने गरेको बताउछन् । साहले भन्छन्, मैले तरकारी खेतीबाहेक अन्य कुनै खेती नगरेको तर यसैबाट कटहरीमा चार कोठाको एउटा पक्की घर बनाउनुका साथै विराटनगरमा एक कट्ठा घडेरी जोडेको र तीनजना छोराछोरी बोर्डिङ पढाएर अहिले छोरालाई इन्जिनियरिङ पढाइरहेको छु ।
यता जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले मोरङका कटहरी, शिसवनी, जहदा, इन्द्रपुर, मधुमल्ला, टाँडी, लेटाँङ जाँते, सिजुवा टकुवा मझारे, महादेवा, बाहुनीलगायतका गाविस तरकारी उत्पादनका पकेट क्षेत्र रहेको बताउछन् ।
उनले सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गरेपछि मोरङमा एक हजार १०० भन्दा बढी कृषक समूहले व्यवसायिक तरकारी खेती गर्न थालेको जानकारी समेत दिए । तरकारीका लागि परनिर्भर बनिरहन परेकाले र वैदेशिक रोजगारीमा युवालाई जानबाट रोक्न नेपाल सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरेको छ ।
यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका, जान लागेका र लक्षित वर्गका युवालाई न्यूनतम एक बिगाह क्षेत्रफलमा तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदान दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ । मोरङमा करिब १९ हजार हेक्टरमा गत आर्थिक वर्षमा तरकारी खेती भएकोमा ९७ हजार मेट्रिक टन तरकारी, मसला बालीमा अलैँची ९१ मेट्रिक टन र अदुवा १३ हजार १२५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, माघ ९, २०७३