शुक्रबार, चैत्र १६, २०८०

पानी पर्दा आलुमा असर, महोत्तरीका किसानहरुलाई सास्ती

महोत्तरी, फागुन । पछिल्लो वर्षाले आलु, मुगफली (बदाम) र केशोर (माटोमा फल्ने तराईको मिठो र रसिलो फलविशेष) खेती गर्ने यहाँका किसान हैरानीमा परेका छन् । गत मङ्गलबारको वर्षाले तयार भइसकेको आलु, मुगफली र केशोर लगाइएको जग्गामा माटो गिल्याएपछि किसानको हैरानी बढेको हो ।

खेतबारीमा तयार भएको आलु, मुगफली र केशोर खन्न नपाउँदै परेको पानी खेतबारीमा जम्दा अब माटोमै कुहिने किसानको चिन्ता छ । माटोमुनि फल्ने यी बाली लगाइएको खेतबारी गिलो भएको हुँदा खन्नका लागि माटो सुक्खा हुनुपर्ने हुन्छ । तर, माटो सुक्खा हुने समय पर्खदा आलु, मुगफली र केशोर माटोमै कुहिन सक्ने बर्दिवास नगरपालिका–६ मनहरिपुरका किसान बिन्देश्वर यादवले बताए ।
“तत्काल नगद बनाउन सकिने फसल अब माटोमै कुहिने भयो”, यादवले बिरक्तिँदै भने, “गिलो माटो भएको यी बाली लगाइएको खेतबारीमा अहिले खन्ने स्थिति छैन, मुखमा आएको बाली नोक्सान भएको आँखाभरि हेर्नुपरेको छ ।” अहिले आलु, मुगफली, केशोरसहित सखरखण्ड, सुठुनीलगायतका फसल पनि खन्न नपाउँदा किसान खिन्न भएका छन् ।
कतिपय किसानचाहिँ माटो गिलो भएकै कारण खेतबारीमा आलु खन्न थालेका देखिएका छन् । बर्दिवास–७ कै फूलबारीटोलमा हिलाम्य खेतमै आलु खनिरहेका भेटिएका सो बस्तीकै किसान राजकुमार महतोले भने, “सजिलो त छैन नि, देखादेखी माटामै बाली गलाउनुभन्दा हिलोमै भए पनि खन्न थालेका हौँ ।” माटो गिलो भएको खेतबारीमा यी फसल खन्दा जनशक्ति बढी लाग्ने, धुने, पखाल्ने काम बढी झण्झटिलो हुने र खनेको ठाउँमा माटो डल्लो परेर अर्को बाली तत्काल लगाउन नपाइने चिन्ता भने रहेको महतोले बताए ।
जिल्लामा यी फसल नगदे खेतीका रुपमा गरिन्छ । आलु सामान्यतया जिल्लाभरि नै बाक्लै लगाइने गरिए पनि केशोर, मुगफली, सखरखण्ड र सुठुनीजस्ता फसल भने उत्तरी क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा लगाइने गरिएको छ । फागुन पहिलो साताभित्र खनिसक्नुपर्ने आलु, मुगफली, केशोर, सखरखण्ड र सुठुनीलगायतका फसल किसानले खन्न नभ्याउँदा अहिले हैरानी बढेको हो ।
जिल्लाका यी चार स्थानीय तहका करिब १०० बिघा जग्गामा आलु खन्न बाँकी रहेको देखिएको छ । यसबाहेक केशोर, मुगफली, सखरखण्ड र सुठुनीसहितका फसल पनि करिब ५० बिघाको खन्न बाँकी रहेका चौनगर कार्यपालिकाका कृषि शाखाले जनाएका छन् । पछिल्लो गत मङ्गलबारको वर्षाले हिउँदे तेलहन, दलहन, लहरे र अन्य तरकारी बाली, पोटाउन लागेको गहुँ र उखुसहितका बालीलाई भने राहत दिएको किसान बताउँछन् । कृषि साप्ताहिकबाट
–––

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १६, २०७६