शुक्रबार, चैत्र १६, २०८०

पहाडी जिल्लामा खाद्यान्नको अभाव

पाँचथर, असोज । नेपालीहरूको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।
वर्षाद्का कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो ।
जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरू मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरू सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरू बताउँछन् । मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताए ।
यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक ओपन भएको तीन दशक भइसक्यो, तर अहिलेसम्म यो सडकको कालोपत्रे त परै जाओस् स्तरोन्नतिसमेत हुन सकेको छैन । जसका कारण अहिले यो सडक ठप्प छ भन्दा फरक नपर्ने स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज १४, २०७३