शुक्रबार, बैशाख ७, २०८१

पशु औषधीको खेल, ककसले गरे झेल

काठमाडौं, कार्तिक । पशुपन्छीको औषधी आयात स्वीकृतदेखि विक्री वितरणसम्म हुने गरेको विभिन्न खेलका कारण औषधी व्यवसाय पेशामाथि पटक पटक प्रश्न चिन्ह उब्जदै आएको छ । नेपालका पशुपन्छी औषधीमा ब्रम्हलुट हुने गरेको भन्दै सरकारी कर्मचारी र पशुपन्छी औषधी व्यवसायीहरु बेला बेलामा लुकामारी खेले जस्तो पनि गर्दै आईरहेको छन् । animal medicine
औषधी आयात तथा विक्री वितरणका लागि स्वीकृत प्रदान गर्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी पाएको औषधी व्यवस्था विभागको एकलौटीपनाले पनि पशुपन्छी औषधीमाथि हरेक वर्ष खेल खेलिंदै गएको देखिन्छ ।
औषधीको नियमनकारी सरकारी संस्थाको रुपमा रहेको औषधी व्यवस्था विभागले पशुपन्छी औषधीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसक्दा यो व्यवसाय जटिल वन्दै गईरहेको छ । जसरी मानव स्वास्थ्यका लागि औषधी महत्वपूर्ण मानिन्छ त्यसैगरी पशुपन्छीको औषधीलाई पनि उत्तिकै महत्वपूर्ण मान्नु पर्ने भएपनि औषधी व्यवस्था विभागले चासो राखेको देखिँदैन ।
पशुपन्छी औषधी व्यवसाय सञ्चालन गर्नेदेखि औषधी आयात गर्ने कार्यमा समेत औषधी व्यवस्था विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भएपनि दशकौंपछि पशुपन्छी औषधी हेर्ने गरी ढुङ्गाको देउता पुजेजस्तै गरी एक जना पशु चिकित्सक औषधी व्यवस्था विभागले राखेको छ । यद्यपी अधिकार विहिन पशु चिकित्सकले नेपालमा आयात गर्ने पशु औषधीदेखि विक्री थलोसम्म पक्कै पनि निगरानी राख्न सक्दैनन् ।
अझ महत्वपूर्ण कुरा त के छ भने पशुपन्छीका औषधी आयातदेखि किसानसम्म पुग्दा हुने खेलमा पशुसेवा विभागदेखि कृषि विकास मन्त्रालय (हाल विभाजन पश्चात पशुपन्छी विकास मन्त्रालय) का उच्च अधिकारी समेत संलग्न भएको देखिन्छ ।
पशुपन्छी औषधीलाई व्यवस्थापन गर्ने र नियमन गर्ने निकाय सक्रिय नहुँदा किसानहरु ठगिन वाध्य भएका छन् भने । पशुपन्छी औषधी आयात गर्नेदेखि विक्री वितरण गर्नेसम्मले ब्रम्हलुट नै मच्चाईरहेको देखिन्छ ।
पशुपन्छी औषधी आयातका लागि २०५२ सालदेखि २०७४ असारसम्म स्वीकृत प्रदान गर्दै आईरहेको पशु सेवा विभागलाई अहिले पशु औषधी आयात गर्ने जिम्मेवारीबाट पाखा लागेको छ । त्यसैगरी औषधीको प्रमुख जिम्मेवारी वोकेको औषधी व्यवस्था विभाग पशुपन्छी औषधी आयातदेखि विक्रीसम्मको कामलाई व्यवस्थित गर्नु त कता हो कता अझ अन्योलमा पार्दै गईरहेको छ ।
विगत २४ वर्षसम्म पशु सेवा विभागले कुन मापदण्डलाई टेकेर औषधी आयात गर्न दिएको थियो र अहिले किन पशुपन्छीका औषधी आयात गर्न रोकिरहेको छ ? अनि औषधी व्यवस्था विभाग आफूले पाएको जिम्मेवारीबाट पन्छिएर पशु पन्छी औषधीप्रति किन सम्वेदनशील हुन सकिरहेको छैन ? जसका कारण आम पशुपालक किसानहरु अवौ रुपैयाँ ठगिन वाध्य भएका छन् । ६० रुपैयाँ पर्ने पशु औषधीलाई किसानहरुले ६ सयसम्म तिर्न वाध्य हुनुको पछाडि को को संलग्न छन् ?
विगतदेखिको इतिहास कोट्याउने हो भने पशुपन्छी औषधी आयात गर्ने जिम्मेवारीमा पशु सेवा विभागका महानिर्देशकदेखि मन्त्रालय सचिव, नीति महाशाखाका सहसचिव, औषधी व्यवथा विभागका महाननिर्देशक एवं औषधी आयातकर्ताका ठेकेदार र विक्री वितरण गर्ने व्यापारीहरुसम्मको मिलेमतोमा पशुपन्छी औषधीको गलत धन्दा शुरु भएको जानकारहरु बताउँछन् ।
यसरी फस्टाउँदै गएको पशुपन्छी औषधी भित्रको खेलमा झेल गर्ने तात्कालिक कृषि विकास मन्त्रालय र हाल पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवार लिनबाट पन्छिने गरेका छन् । जिम्मेवार पदमा बसेर मापदण्ड वा निर्देशिकाका दफाहरु पल्टाउनेहरुले हिजोका दिनमा के के गरे भन्ने कुरा विस्तारै फर्दाफास हुने नै छ । को को र कसरी किसानमारा काममा थिए र छन् । औषधी आयातकर्ता विक्री गर्ने व्यवसायी स्वीकृत गर्ने पशु सेवा विभागदेखि नियमन गर्ने औषधी व्यवस्था विभाग समेत यो विषयबाट टाढा भाग्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति: सोमवार, कार्तिक ६, २०७४