शुक्रबार, बैशाख ७, २०८१

पशुहरुमा कृत्रिम गर्भाधान बढ्दै

तुलसीपुर (दाङ), ३० पुस । जिल्ला पशुसेवा कार्यालय दाङले जिल्लामा पशु प्रजननका लागि कृत्रिम गर्भाधानलाई व्यापक गराउने भएको छ । कार्यालयले कृत्रिम गर्भाधानका केही सामुदायक पशु प्रजनन केन्द्र थपेर यसलाई व्यापक गराइने कार्यालयले तयारी गरेको हो । कार्यालयले जिल्लामा सञ्चालन भएका आठ सामुदायिक पशु प्रजनन केन्द्रलाई १२ पु¥याएर यसको व्यापकता गरिन लागेको कार्यालयका पशुचिकित्सक ऋषिराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार बितेको एक वर्षमा जिल्लामा एक हजार गाईभैंसीको कृत्रिम गर्भाधान गरिएको छ । केन्द्र बढेका कारण कृषकले सहजै यसको सेवा लिन पाउने छन् । जिल्लामा अहिले लालमटिया, गढवा, सतवरिया, रिहार, उरहरी, रामपुरमा पशुसेवा कार्यालयले सामुदायिक पशु प्रजनन केन्द्र स्थापना गरी पशुलाई कृत्रिम गर्भाधान गरिरहेका छन् । बीस वर्षअघिदेखि जिल्लामा सञ्चालन भएको पशुलाई कृत्रिम गर्भाधान गर्ने पशु प्रजनन कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन नभएको भन्दै कार्यालयले गत आर्थिक वर्ष २०६८÷६९ मा नयाँ योजना तथा अवधारण लिएर सञ्चालन गरेको कृत्रिम गर्भाधानले विगतका वर्षभन्दा यस वर्ष प्रगति गरेको पशुचिकित्सक सापकोटाले बताउनुभयो । कृत्रिम गर्भाधानले उन्नत जातको गाईभैंसीको उत्पादन हुने र त्यसले स्थानीय जातका गाईभैंसीभन्दा बढी दुधालु हुने भएकाले कृत्रिम गर्भाधानले जिल्लामा हुने दूधको अभाव पनि कम हुने जनाइएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ३०, २०७०