शनिबार, बैशाख ८, २०८१

पशुपालन व्यवसाय सङ्कटमा

बर्दिवास, २ फागुन । महोत्तरी जिल्लामा पशुपालन व्यवसाय सङ्कटमा परेको छ । वर्षौंदेखि पशुपालन व्यवसाय निकै फस्टाएकाले जिल्लामा पछिल्लो एक दशकयता चरण क्षेत्र मासिँदै जाँदा यो व्यवसाय सङ्कटमा परेको पशुपालक किसानले बताएका हुन् । जिल्लामा पशुपालन व्यवसायका लागि उपयुक्त ठानिएका भङ्गाहा, हतिसर्वा, सिङ्ग्याही, बगडा, किसाननगर, पशुपतिनगर, हात्तीलेट, माईस्थान, गौरीवास, रामनगर, बेलगाछी र खयरमारालगायतका गाविसमा चरन मासिँदै गएपछि पशुपालन व्यवसाय धान्न मुस्किल परेको किसानको भनाइ छ । एकदशक अघिसम्म आफ्नो गोठमा ५० वटा गाई र पाँचवटा भैँसी पालिने गरेकामा अहिले चरन मासिँदै जाँदा पशुहरू घटाउँदै जानुपरेको भङ्गाहा–४ का किसान छविलाल दाहालले बताए ।
दिनहुँ सय लिटर दूध दुहुने आफ्नो गोठमा अहिले १०÷१५ लिटरमा झरेको दाहालको भनाइ छ । रातु र बडहरी नदी किनारको घसिलो चरन क्षेत्र अतिक्रमण हुँदै जाँदा यो व्यवसायलाई निरन्तरता दिन गाह्रो परेको भङ्गाहा, हतिसर्वा, सिङ्ग्याही, बगडा, किसाननगर र पशुपतिनगरका बासिन्दाको भनाइ छ । त्यसैगरी हात्तीलेट, माईस्थान, गौरीवास, रामनगर र बेलगाछीसहितका गाविसको चरन क्षेत्र रहँदै आएको टुटेश्वर र माईस्थान वन क्षेत्रमा डढेलो लाग्ने, अतिक्रमण हुने क्रमले पशु पाल्न सकस परेको पुराना पशुपालक किसान माईस्थान गाविसका निवर्तमान अध्यक्षसमेत रहनुभएका धनबहादुर स्याङ्तानले बताए । एक दशक अघिसम्म १०० वटा पशुपालन गर्ने किसानका गोठमा अहिले पाँचवटा पनि छैन । टाढाटाढाबाट जिल्लाका गाउँ बस्तीमा दूध खोज्न आउनेको लर्को पनि अब हेर्न पाउने स्थिति हराएको सिङ्ग्याही–६ का गाईपालक किसान रामसोगारथ यादव भन्छन् । चरणको अभावमा पशुपालन छोडिएपछि अब आपूmहरूले काम पर्दा (विवाह, व्रतबन्धसहितका समारोह र मरनहरणमा) दूध खोज्न अन्यत्र जानुपरेको बगडाका किसान राजकरण यादवको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २८, २०७०