बुधबार, बैशाख ५, २०८१

परम्परागत कृषि प्रणाली अन्त्य हुने

सिन्धुली, भाद्र । प्रदेश नं. ३ का कृषि मन्त्री दावादोर्जे लामाले अव परम्परागत खेतीको अन्त्य हुने बताएका छन् । नेपालमा परम्परागत कृषि प्रणालीका कारण किसान निराश भएको र जीवन निर्वाह बाहेक अर्थापार्जन गर्न नसकिएकाले समेत अव परम्परागत कृषि प्रणालीको अन्त्य गर्नु पर्ने उनले बताएका हुने । सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै कृषि मन्त्री लामाल अबको सरकारले किसानलाई कृषि फर्मतर्फ उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएका थिए ।
परम्परागत कृषि व्यवसाय गर्ने प्रणलीले नेपाली कृषकको हित नभएकाले आफ्नै पालामा यस्तो प्रणलीको अन्त्य गरी आधुनिक प्रविधिसहितको खेती गर्न किसानलाई प्रेरणा दिने कार्यक्रम आफूले ल्याउन लागेको उनले बताए । अहिले उत्पादन कम र खर्च बढी भएकाले किसानमा निरासा छाएकाले अब कम लगानीमा उत्पादन वृद्धि गरी बीचबाट फाइदा लिने बिचौलियाको अन्त्य गर्न कार्यक्रम बनाइने उनको धारणा थियो ।
किसानले उत्पादन गरेका हरेक कृषि सामग्रीको भण्डारणका लागि एक जिल्ला एक चिस्यान केन्द्र बनाउने प्रदेश सरकारको लक्ष्य भएकाले किसानलाई उत्पादनमा लाग्न आग्रह गर्दै वितगमा जस्तो बजार र चिस्यान केन्द्रको अभावका कारण सस्तो मूल्यका कृषि उपज विक्री गर्नु पर्ने अवस्थाको अन्त्य हुने समेत उनले बताए ।

प्रकाशित मिति: आइतवार, भदौ १०, २०७५