शुक्रबार, चैत्र १६, २०८०

पकेट क्षेत्र घोषणा गर्दैमा तरकारी उत्पादन बढ्दैन

arun
अरुण काफ्ले,
प्रमुख
केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्र

० अहिले तरकारीको बीउ तथा बेर्ना उत्पादन कस्तो भईरहेको छ ?
नेपालको सन्दर्भमा भन्ने हो भने पछिल्लो समयमा तरकारी व्यवसायिक रुपमा उत्पादन हुन थालेको छ । जसले गर्दा तरकारीका बीउहरु हाइव्रिड प्रयोग हुन थालेका छन् । व्यवसायिक रुपमा तरकारी उत्पादन बृद्धि गर्नका लागि केही सहयोग होस् भन्ने सोचले तरकारी विकास निर्देशनालय मातहतमा रहेको यो फार्म सहित देशभर रहेका एघार वटा स्थानमा रहेका फार्म केन्द्रहरुबाट आलु र तरकारीको बीउ उत्पादन गर्दै आईरहेको छ । दुई वटा फार्मले आलुको बीउ उत्पादन गरिरहेको छन् भने अरुले तरकारीकै बीउ उत्पादन गरिरहेका छन् । हामीसंग बीउ उत्पादन गर्नका लागि सांढे चौध रोपनी मात्र जग्गा छ । त्यो सिमित जग्गामा काठमाडौं काउली, घिउ सिमी र झांगे सिमीको श्रोत केन्द्रका रुपमा २०३० सालबाट स्थापना भई काम गरिरहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै फार्ममा बीउ भन्दा पनि बेर्नाको माग बढी भएकोले बेर्ना उत्पादन बृद्धि गरिरहेका छौं ।
० बाहिरबाट आयात गरिएका हाईव्रिड बीउले माटो नै विगारिरहेको छ भन्छन् नि हो ?
बीउले माटो विगार्ने भन्ने चांहि होइन । बीउ र माटोको सम्वन्ध भनेको उत्पादनसंग सम्वन्धित कुरा हो । माटो विगार्ने भनेको विषादी र रासायनिक मलको प्रयोगले नै हो । हाइव्रिडले बीउको गुणस्तरीय उत्पादनमा प्रभाव पार्ने हो माटो विगार्ने भन्ने होइन । उत्पादनको क्षमतामा हाईव्रिडले प्रभाव पार्दछ ।
० नेपालको सन्दर्भमा हाइव्रिडको कारण उत्पादकत्व बृद्धि भएर किसानहरु आकर्षित भएका हुन् त ?
हामीले परम्परागत बीउबाट दैनिकी प्रयोगका लागि तरकारी उत्पादन गर्दै आईरहेका पाएका छौं । व्यवसायिक तरकारी उत्पादन गर्ने किसानहरुले प्रयोग गर्नु हुँदैन । जस्तै काठमाडौंको लोकल काउलीको कुरा गर्ने हो भने ९० देखि १२० दिनमा उत्पादन हुन्छ । तर हाइव्रिड बीउ लगाएर उत्पादन गर्ने हो भने ६० दिनदेखि ९० दिनसम्म उतपादन नै लिन सकिन्छ । किसानहरुले उत्पादनको समयलाई ख्याल गरेर र उत्पादन पनि बढि हुने भएकाले हाइव्रिड बीउतर्फ आकर्षित हुनु भएको हो । तर स्वास्थ्यका दृष्टिकोणले स्थानीय बीउलाई उत्कृष्ट मानिन्छ ।
०अहिले कृषि विकास मन्त्रालयले धेरै क्षेत्रलाई तरकारीका पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ, के तरकारीमा सवै पकेट क्षेत्र आत्मनिर्भर हुने खालका छन् ?
पकेट क्षेत्र घोषणा भयो अव तरकारीमा आत्मनिर्भर हुन्छ भन्ने होइन । जुनसुकै बालीको उत्पादन बृद्धि गर्नका लागि बीउ गुणस्तरीय चाहियो । गुणस्तरीय बीउले उत्पादन बृद्धि गर्दछ । किसानहरु उत्पादन बढी लिनका लागि हाइव्रिड बीउमा आकर्षित हुनु भएको छ । तर नेपालमा बीउ उत्पादन गर्ने कम्पनीहरुले हाईव्रिड बीउ उत्पादन गर्न सकेका छैनन् । गोलभेंडामा केही हदसम्म हाइव्रिड बीउ उत्पादन भयो जसले उत्पादन पनि धेरै भएको पाइएको छ । हाईव्रिड बीउको माग बढ्दो छ तर हामीले उत्पादन गर्न सकेका छैनौं । पकेट क्षेत्र घोषणा भएपछि बीउको व्यवस्थापन गर्ने कार्य गर्न सक्नु पर्दछ । आन्तरिक व्यवस्थापन नहुने वित्तिकै गुणस्तरका कुरा आउंछ । गुणस्तर नियन्त्रण, नियमन गर्ने निकायले पनि नियमन गर्न सकेको छैन । वीउको गुणस्तरको सुनिश्चितता नभएसम्म पकेट क्षेत्र घोषणा गर्दैमा उत्पादन बढ्छ भन्ने कुरामा शंका छ ।
० सरकारी फार्महरुले बीउ उत्पादन गर्ने बाहेक धेरै निजी कम्पनीहरु आफैले उत्पादन गर्ने भन्दा पनि बढी आयात गर्ने गरिरहेका छन् नि किन होला ?
किसानहरुको माग नै हाइव्रिड बीउमा बढिरहेको छ । हाइव्रिड बीए हाम्रोमा उत्पादन हुदैन । बीउ उत्पादन नभएपछि आयात गर्नु वाध्यता पनि होला । अहिले काउली, बन्दा, गोलभेंडा लगायत अधिकांशा तरकारी हाइव्रिडमा गईसकेका छन् । स्थानीय जातका बीउहरु प्रयोग नै हुन छाडे । अर्को कुरा नेपालमा अनुसन्धानको पनि कमी छ । तरकारीमा हाईव्रिड उत्पादन भनेको गोलभेंडाको सृजना जातकोमा मात्र छ । त्यस बाहेकका अन्य तरकारीको हाईव्रिड बीउ नेपालमा उत्पादन नै भएको छैन । यो अवस्थामा व्यापारीहरुले किसानहरुको माग अनुरुप बीउहरु आयात गरिरहेका देखिन्छ ।
० तरकारीमा आत्मनिर्भर भन्ने तर बीउ चाहि आयात गरिरहनु पर्ने अवस्था छ के नेपालमा बीउमा आत्मनिर्भर हुने अवस्था छ ?
सवैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले हाम्रा प्राथमिकतालाई परिवर्तन गर्नु पर्दछ । हाम्रा सरकारी फार्म तथा केन्द्रहरु स्थापना भएपनि श्रोत केन्द्रका विकास गर्नु पर्दछ । हामीले बार्षिक रुपमा तयार गरेका लक्ष्य मात्र पूरा गर्न लागेका छौं । किसानहरुको माग अनुरुपको उत्पादन गर्ने परिपाटी बसाल्न सकेका छैनौं । किसानहरुको माग एकातिर छ हाम्रो उत्पादन अर्कोतिर छ । हाईव्रिड बीउ उत्पादन गर्ने भन्ने वित्तिकै अनुसन्धानले विशेष भूमिका खेल्नु पर्दछ । कृषि अनुसन्धानले हामीलाई आवश्यक पर्ने लाईनहरु विकास गरिदिने हो भने हामीले किसानहरुको माग अनुरुप जात उत्पादन गर्न सक्छौं । अहिले किसानहरुको माग र हाम्रो उत्पादन फरक छ । तरकारीको क्षेत्रमा अनुसन्धान व्यापक हुनु जरुरी छ ।
० कृषि अनुसन्धान नै भएन जसले गर्दा हामीले किसानहरुको माग पूरा गर्न सकिएन भन्न खोज्नु भएको हो ?
कृषि क्षेत्रको विकास गर्नका लागि सवैभन्दा महत्वपूर्ण भूमिका कृषि अनुसन्धानको हुन्छ । अनुसन्धान नै राम्रो नभएपछि कसरी विकास हुन्छ । हामी भनेको अनुसन्धानले तयार गरेका प्रविधिहरुको प्रचार प्रसार गर्ने हो । फार्म केन्द्रहरुले कृषि अनुसन्धानबाट उत्पादन भएका प्रजनन् बीउहरुलार्य ल्याएर मूल बीउ बनाएर किसानसम्म पु¥याउने हो । किसानहरुको माग अनुरुपम जे जति सकिन्छ त्यस्ता जातहरुको हाइव्रिड आफैले उत्पादन गरेर अगाडि बढ्ने हो भने हामी पनि विस्तारै बीउमा आत्मनिर्भर बन्न सक्छौं ।
० त्यसो भए कृषि विकास मन्त्रालयको प्राथमिकता तरकारीको बीउमा भएन भन्दा ठिक हुन्छ ?
तरकारीको बीउको लागि नार्कले गरेको अनुसन्धान हेर्ने हो त्यसबाट नै थाहा हुन्छ । नार्कले गरेका अधिकांश अनुसन्धान भनेको धान, मकै, गहुंसँग सम्वन्धित छन् । तरकारीको अनुसन्धानको पाटो कमी छ । अर्को कुरा के हो भने जात विकास गर्ने भन्ने कुरा एकदुई बर्षमा भईहाल्ने कुरा होइन । ६–८ बर्ष निरन्तर प्रयास गर्नु पर्दछ । अनि मात्र सम्भव छ ।
० कमजोरी कृषि अनुसन्धानको कि कृषि विकास मन्त्रालयको ?
दोष कस्को भन्दा पनि यसका दुवै पक्षको कमजोरी छ भन्नु पर्दछ । किन भने नार्कलाई पनि अध्ययन अनुसन्धानका लागि सुझाव दिनु पर्दछ । किसानको माग यो बाली र यो जातमा छ भन्ने जानकारी दिने काम त हाम्रो हो नि । अर्को कुरा हामीलाई कति तरकारीका बीउ चाहिने हो, कति उत्पादन भएको छ भन्ने तथ्यांक छैन । त्यसको लागि हामीलाई तरकारीका विभिन्न जातका आवश्यक बीउ कति हो भन्ने तथ्यांक तयार गर्नु पर्दछ । अनि हामीसँग कति उत्पादन भईरहेको छ भन्ने कुरा हेर्ने वित्तिकै हामी आत्मनिर्भर छौं कि छैनौं भन्ने कुरा प्रष्ट हुन्छ । – वैकुण्ठ भण्डारी-

प्रकाशित मिति: सोमवार, साउन २४, २०७३