मङ्लबार, बैशाख ११, २०८१

न्यूनतम मूल्य पाउँदैनन् किसान

काठमाडौं, १० मंसिर । यतिवेला किसानले धान बिक्री थालेका छन् भने उखु क्रसिङ गर्ने वेला हुन लागेको छ । तर, किसानले उचित मूल्य नपाउने गरेको गुनासो बर्सेनि दोहोरिन्छ । किसानलाई न्यूनतम लागत उपलब्ध गराउन कृषि विकास मन्त्रालयले बर्सेनि धान र उखुको समर्थन मूल्य तोक्दै आएको छ । यो वर्षका लागि कृषि विकास मन्त्रालयले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार २ सय ४७ रुपैयाँ ३७ पैसा र मध्यम धानको २ हजार ४ सय ३८ रुपैयाँ ६३ पैसा निर्धारण गरी आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो ।dhan-rice तर, आपूर्ति मन्त्रालयमातहतको खाद्य संस्थानले कृषिले तोकेको न्यूनतम मूल्य पनि किसानलाई दिएको छैन । संस्थानले मोटा धान कैलालीमा १ हजार ९ सय ५० र बर्दियामा २ हजार २ सय रुपैयाँ प्रतिक्विन्टलमा धान खरिद गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद सापकोटाले जानकारी दिए । ‘धान कति मूल्यमा खरिद गर्ने भन्ने निर्णय सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले निर्णय गर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘कृषिले कति मूल्य सिफारिस गर्‍यो भन्ने कुराले कुनै तालमेल गर्दैन ।’ यो वर्ष संस्थानले २ लाख ७६ हजार क्विन्टल धान खरिद गर्न लागेको उनले बताए ।

कृषि विकास मन्त्रालयका उपसचिव शंकर सापकोटाले सिफारिस भएको मूल्य न्यूनतम भएको बताए । ‘हामीबाट सिफारिस भएको मूल्य न्यूनतम हो । त्यति मूल्य त किसानको लागत नै हुन्छ भनेका हौँ,’ उनले भने । किसानको लागत मूल्यमै सरकारले धान खरिद गर्ने निर्णय गरेपछि व्यापारीले मनपरी गर्ने बाटो खुलेको छ ।

उखुमा सधैँ विवाद
गत वर्ष ६८ हजार ४ सय २ हेक्टर जमिनमा उखु लगाएका किसानलाई न्यूनतम प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसाका दरले भुक्तानी दिन सरकारले मूल्य निर्धारण गर्‍यो । तर, व्यवसायीले प्रतिक्विन्टल ४ सय २६ रुपैयाँसम्म दिन सक्ने बताए । सरकारले तोकेको भाउ दिन नसक्ने तर्क गर्दै आएका व्यवसायीले उखु पेलेर तयार गरेको चिनीको भाउ भने आफैँ तोक्ने गरेका छन् ।

व्यवसायीसँग मूल्यको विवाद हुँदा तीन वर्षदेखिको करिब ४५ करोड रुपैयाँ भुक्तानी किसानले पाउन बाँकी रहेको उखु किसान महासंघका अध्यक्ष कपिलप्रसाद मैनालीले जानकारी दिए । ‘उद्योगीले हामीले भनेको मूल्यमा उखु किन्दैनन् । सरकारले तोकिएको न्यूनतम समर्थन मूल्य पनि दिँदैनन्,’ उनले गुनासो गर्दै भने, ‘मूल्य नपाउने भएकै कारण बिस्तारै उखुखेती गर्ने किसानको संख्या घट्दै गएको छ ।’ उखु उत्पादन कम भएकै कारण बर्सेनि ७०–८० हजार टन चिनी आयात हुने गरेको छ । -नयाँ पत्रिकाबाट

प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४