मङ्लबार, चैत्र ६, २०८०

नेपाललाई कृषि प्रधान देश भन्न नसक्ने अवस्था आयो : प्रम ओली

विराटनगर, चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई कृषि प्रधान देश भन्न सक्ने अवस्था नभएको भन्दै कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मातहतमा सञ्चालित तात्कालिन व्यवसायिक कृषि तथा व्यापार आयोजनाको आर्थिक सहयोगमा निर्माण भएको बजार उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले कृषि पेशालाई मर्यादित बनाउन र युवाहरुलार्य समाहित हुन अनुरोध समेत गरे ।
उनले कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकारले आन्तरिक लगानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिरहेको समेत बताए । तर सो परियोजनाले काम गर्न नसकेको प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले जमीन खण्डीकरण भईरहेकोले सहकारीका माध्यमबाट चक्लावन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प नरहेको समेत बताए ।

उनले सगरमाथा, गौरीशङ्कर जस्ता थुप्रै हिमालका पानी प्रदेश नं. १ मा आउने भएकाले तराईको उर्वर जमीनमा उत्पादन बढाउन सकिने भन्दै सो क्षेत्रमा अलैँची, चिया र सुपारी उत्पादन गरी बहुबाली उत्पादमा ध्यान दिनु पर्ने बताए ।
पछिल्लो समयमा खाद्यान्न आयात बढिरहेको संकेत गर्दै उनले कृषि उत्पादन बृद्धि गरी ती वस्तु निर्यात गरेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण शुरु भइसकेको भन्दै कृषि बजारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले नियमन गर्ने बताए ।
कार्यक्रममा सहभागी कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशभरिमा ३१ कृषि बजार र केही शीतगृह बनाउने सरकारको योजना रहेको बताईन ।
सो अवसरमा कृषि सचिव डा युवकध्वज जोशीले उत्पादक र उपभोक्ताबीचमै बिचौलियाले खेल्ने खेल सो बजारले समाप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।
स्थानीय जनप्रिय मावि कटहरीले चार बिघा र कटहरी गाविसले १८ कठ्ठा दुई धुर उपलब्ध गराएको सो जग्गामा निर्माण भएको अत्याधुनिक कृषि थोक बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल १० हजार मेट्रिकटन अट्ने क्षमता छ । नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५