बुधबार, बैशाख १२, २०८१

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो

तेह्रथुम, २२ कात्तिक । आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । paddy
मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ । उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन् ।
जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्र्याउने चटारो छ ।
यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम विकले बताए । “चुनाव आयो रे, नेताहरु गाउँघरमा डुल्न थालिसके”, उनी भन्छन्, “हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनीहरुलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो ।”
प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि जिल्लामा २१ मंसिरमा चुनाव हुँदैछ । मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ । तर गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती सम्हाल्नमै व्यस्त रहे पनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन् ।
यो याममा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्र्याउन र जौ, गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन् । चुनावअघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् ।  – प्रकाश धौलाकोटी

प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४