शुक्रबार, चैत्र १६, २०८०

नहर पुरिएपछि किसान आन्दोलित

पर्वत, पौष । कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा सिँचाइ नहर पुरिएपछि कृषक आन्दोलित बनेका छन् । खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दा आन्दोलनमा उत्रेपछि लोकमार्गको निर्माण कार्य ठप्प बनेको छ । देवीस्थान गाविस–७, ८ र ९ तथा मुडिकुवा गाविसको–५ नं वडामा सिँचाइ गर्न निर्मित फलेवास सिँचाइ आयोजनाको झन्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको छ । भत्किएको नहर पुनःनिर्माणका लागि पटक÷पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि शनिबार बिहानदेखि निर्माण कार्य ठप्प पारेका हुन् ।
आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिँचाइ गर्नुपर्ने बेलामा सिँचाइ नहर भत्किएपछि उनीहरू चिन्तित बनेका हुन् । झन्डै २५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न नपाएपछि उनीहरूले निर्माणाधीन लोकमार्गको काम ठप्प पारेका हुन् । नहरबाट पीडित दुईसय भन्दा बढी घरधुरीले लोकमार्गमा नाराबाजी गर्दै काममा अवरोध गरेको स्थानीय भोलानाथ भुसालले जानकारी दिए ।
उनका अुनसार सडक मर्मतका लागि सम्बन्धित ठेकेदार र जिल्ला सिँचाइ कार्यालयमा खबर गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नपरेको हो । हिउँदे बालीनालीको सिँचाइ गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषक चिन्तित बनेका छन् । उनीहरूले तत्काल नहर मर्मतका लागि मागसमेत गरिसकेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनीहरूले बताएका छन् ।
विकासका नाममा सडक निर्माण हुन आवश्यक छ तर कृषकलाई हानि पु¥याउने गरी नहर नै भत्काएर सडक निर्माण गरिएकाले आफूहरू आन्दोलित बन्नुपरेको भुसालले जानकारी दिए । बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वतखण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, पुस १८, २०७३